काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीनै तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई राष्ट्रपतिले माफी दिनु गलत भएको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘हामीकहाँ दण्डहिनता बढ्दै गएको चिन्ता मलाई लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् तीनटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्व अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यि कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी हुन्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफि दिएर जेलमुक्त गरेपछि उनले आपत्ति जनाएका हुन्।

कोइरालाले स्वतन्त्रता पाएपनि आर्थिक, सामाजिक, साँस्कृतिक समानतामा ल्याउन नसक्दा अफ्ठ्यारो पर्ने बताए। 

कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णयले लोकतन्त्र सुढृढ नहुने भएकाले सच्याउनुपर्ने स्पष्ट पारे। उनले निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे।