काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। 

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले लेनिन विष्टले दायर गरेको रिट निवेदनमाथि सर्वोच्चका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै दर्ता गर्न आदेश दिएको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने भन्दै रजिस्ट्रारले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता नगरी विष्टको निवेदन दरपीठ गरेका थिए। 

माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसेनाको रूपमा भर्ती भएका विष्टले आफूलाई अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको आरोप लगाएका छन्। विष्टले प्रधानमन्त्री प्रचण्डलाई विपक्षी बनाई आफुलाई बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत, परिपुरण, क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका छन्। 

सर्वोच्चका रजिस्ट्रारले जेठ १६ गते विष्टको निवेदन दरपीठ गरेका थिए। रिट निवेदन दरपीठ भएपछि विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिएका थिए।