काठमाडौं – पिथौरागढमा बेचिएका सुदूरपश्चिमका २७ बालबालिकाहरुलाई एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ ।
मानव तस्कारीबाट पीडित बालबालिका र महिलाको हितमा काम गर्दै आएको उज्वला पुनर्वास केन्द्रका सचिव सुरेन्द्र आर्यले मानव तस्करको फन्दामा परेका २७ जना नेपाली बालबालिकालाई उद्धार गरेर उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको बताएका छन् ।
उनका अनुसार बालकल्याण समितिले उद्धार गरेर केन्द्रमा ल्याएका २७ जना बालबालिकामध्ये १७ जना बालश्रममा लगाइएका र १० जना यौन शोषणमा परेको पाइएको छ । उद्धार गरिएका बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका रहेका छन् ।
मुद्दाको किनारा लागेपछि बालबालिकालाई नेपाल फर्काइने उज्वला पुनर्वास केन्द्रले जानकारी दिएको छ ।
मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ । साथै मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका २७ जना बालबालिकालाई त्यहाँको एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ । मानव तस्करी र बलात्कारको आरोपमा केही भारतीयमाथि पनी मुद्दा चलाइएको छ ।
गरिब तथा टुहुरा बालबालिका मानव तस्करको जालोमा फसेर भारतको पिथौरागढ पुग्ने गरेको पाइएको छ । १० देखि १८ वर्ष उमेरका बालबालिकालाई श्रममा लगाउने, बेचबिखन र यौन शोषण गरेको आरोपमा केही भारतीयमाथि अदालतमा मुद्दा दर्ता भएको कानुन सहजकर्ता तनुजा पोखरियालले बताए । अदालतबाट मुद्दाको किनारा नलागुन्जेलसम्म उद्धार गरिएका बालबालिकालाई संस्थाले खाने बस्ने र पढ्न पाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
0 comment