काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकार नयाँ परियोजनामार्फत अगाडि बढ्ने बताएका छन्। 

खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलका रूपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना सञ्चालन गरेर सरकार अगाडि बढ्ने बताए। 

‘प्रकृतिले दिएको यो अनुपम क्षेत्रको विकासका लागि छुट्टै खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठान बनाएर नयाँ परियोजनाबाट विकासका काम अगाडि बढाउने छौं,' उनले भने, ‘यो क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्नुपर्छ।’

उनले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुनसक्ने बताए। भारतलगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि पहिलेको भन्दा अलि फरक ढंगबाट ध्यान केन्द्रित गरेको बताए। क्याबिनेटबाट सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि निर्णय गर्ने कुरादेखि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न भरखरै भारत सरकारसँग समेत कुरा भएकाले यहाँको विकासलाई देशको अग्रणी क्षेत्रको रुपमा अगाडि लगिने प्रचण्डले बताए।

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ। सो क्षेत्रमा विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ। 

खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन। विविधताको फूलबारी खप्तड सयौं प्रजातिका चरा, तीन सय ७२ प्रजातिका वनस्पति र एक सय ३० थरीका जडीबुटीले भरिपूर्ण छ।