काठमाडौं - ललितपुर प्रहरीले प्रेस लेखिएको गाडीबाट २० लाख बराबरको खैनी, गुट्खा लगायतका अवैध सामान बरामद गरेको छ।

ललितपुर २६ चिवाहलमा सुरक्षा चेकजाँचका क्रममा ठूलो अक्षरमा प्रेस लेखेर टाँसिएको गाडीबाट प्रहरीले उक्त सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पिकअप चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४, डुम्बरवाना ३४ वर्षीय दीपकप्रसाद लामिछाने र पिकअपमा सवार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं. ११ बस्ने २८ वर्षीय सचिनकुमार चौरसिया रहेका छन्। 

म्याद गुज्रेको प्रेस कार्ड बोकेका उनीहरुको साथबाट पल टिभि नेपाल र पल अनलाइनखबर बाराको नाममा रहेको अन्य व्यक्तिको म्याद गुज्रेको प्रेस कार्ड समेत बरामद भएको छ। रामेश्वर भेटवाल, बाबुलाल अग्रवाल, रविन्द्र सुनारको नाममा रहेको म्याद गुज्रेको प्रेस कार्ड प्रहरीले फेला पारेको हो। 

प्रहरी परिसर ललितपुरका प्रबक्ता नवराज कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरु व्यापारी भएको खुलेको छ। उनीहरुले प्रहरीको चेकजाँचको क्रममा पक्राउ परिने डरले प्रेस कार्ड बोकेको अनुसन्धानका क्रममा खुलेको छ। प्रेस कार्ड र उनीहरुको फोटो र नाम नै मिल्दैन। सुरक्षा चेकजाँचको क्रममा प्रेसको सामान हो भनेर उनीहरु पन्छिएका थिए। प्रहरीले कुन प्रेसको के सामान भनेर खोजी गर्ने क्रममा बिल नभएको सामान फेला पारेको हो।

प्रहरी वृत्त चापागाउँबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, रेडबुल, कत्थालगायत सामान बरामद गरेको हो। बजार दर अनुसार बरामद गरिएको सामानको रकम अन्दाजी २० लाख ७३ हजार ५९० बराबरको छ। 

बागमती प्रदेश ०१–०२६ च ८९८० नम्बरको कालो गाडीबाट ती सामान बरामद गरिएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बरामद सामान भारतीय सिमा नाका हुँदै हेटौंडा र काठमाडौं ल्याइएको थियो। पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहर भवन, पुल्चोक पठाइएको छ।