काठमाडौं - नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

विराटनगरमा मंगलबार बसेको प्रदेश पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको साथै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए। उनले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाएको उल्लेख गरेका छन्। माओवादीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ। 

यसैबिच, नेपाली कांग्रेसले कोसी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। 

प्रदेश संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए।