काठमाडौं – सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पाल फेरीपनी विवादमा तानीएका छन् । 

पालले एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि उनी विवादमा तानीएका हुन् । स्रोतका अनुसार घटना गत शुक्रबारको हो । महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई यो कुरा जानकारी गराइएको थियो । त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए । त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन् । 
क्वाटरमा पुगेकी महिला हवल्दारलाई एसएसपी पालले “तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं ।” भन्ने प्रस्ताव राखेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन् । पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि उक्त घटना वाहिर आएको हो । 

पटक-पटक विवादमा आइरहने नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि यो पटक पनी गम्भीर आरोप लागेको छ । आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ । साथै यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया पनी अघि बढाएको छ । 

घटनाको जानकारी बुझ्नका लागि पाललाई प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ र अहिले उहाँ प्रहरी हेडक्वाटरमा हुनहुन्छ । उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा बोलाइएको काुरा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायते जानकारी दिएका छन् । 

तर महिला प्रहरीलाई यौन हिंसा गरेको भन्ने विषयको जानकारी आफुलाई थाहा नभएको दाबी गर्छन् । साथै यस घटनाको जानकारी प्रदेशलाई थाहा होला मलाई यसबारे कुनै जानकारी छैन कडायतले भने । 

आश्चर्यको कुरा त एसएसपीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले उनीभन्दा तल्लो दर्जाका एसपीको नेतृत्वमा समिति बनाएको छ । एसपीको नेतृत्वमा समिति बनाएर घटनालाई सामसुम पार्न खोजिएको आशंका पीडित महिला हवल्दारले गरेकी छिन् । 

यस्तो छ राम कहानी पालको

पटक–पटक विवादमा आईरहने र अहिले आरोप लागेका पाल सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुन फाराम भरेका थिए तर उनी परीक्षामा उत्तीर्ण हुन सकेनन् । त्यस बेलाको कार्यकर्ता भर्तीकेन्द्र बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा पहुँचको आधारमा उनी इन्स्पेक्टर बनेका थिए । 

उनी चलखेलबाट नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भए पनि उनी विवादबाट भने जोगिन सकेनन् । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा उनी कारबाहीमै परेका थिए । यसबाहेक सोलुखुम्बुमा इन्चार्ज हुँदा पाललाई यौन दुव्यर्वहारसम्बन्धी गम्भीर आरोप लागेको थियो । । यौन दुव्यर्वहारसम्बन्धी आरोप लागेपछि उनको जिम्मेवारीसमेत खोसिएको थियो । अहिले पनी त्यही आरोप लागेर उनी विवादमा तानिएका छन् ।