काठमाडौं - नेकपा एमालेका सांसद योगेश भट्टराईले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रधानमन्त्रीले ब्युँताएको भन्दै आपत्ती जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले भने,'प्रधानमन्त्रीलाई मेरो आग्रह छ, निष्क्रिय भइसकेको विधेयकलाई ब्यूताउने तागत प्रधानमन्त्रीसँग छ भने द्वन्द्वकालमा मारिएका १७ हजार मान्छेलाई पनि ब्यूताइदिऔं त एकपटक।'
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार नभएको बताए। उनले भने 'संविधानको धारा ११० मा स्पष्ट व्यवस्था छ। प्रतिनिधिसभाको समयावधि सकिएर अर्को निर्वाचन भइसकेपछि सबै विधेयक निष्क्रिय हुन्छन्।'
भट्टराईले नागरिकता समस्या समाधानमा एमाले सधैं गम्भीर रहेको बताए। उनले गैरआवासीय नेपालीको नागरिकता सन्दर्भमा केही विवाद नभएको स्पष्ट पारे। उनले नागरिकता विधेयकमा प्रादेशिक पहिचानको कुरा समेटिएको भन्दै आपत्ती जनाए।
उनले भने,' हामीले प्रादेशिक पहिचानसहितको नागरिक कुरा उठायो। तर, त्यो विधेयकमा प्रादेशिक पहिचानको कुरा छैन। एउटा महिलाले आफ्नो अस्मितामाथि खेलबाड गर्दै उसले स्वघोषणा गर्नुपर्ने प्रावधान राखेर महिला अधिकारमाथि नांगो हस्तक्षेप गर्ने यस्तो विधेयक कसरी महिला समानता हुनसक्छ ?'
भट्टराईले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा टुंगो लगाउनुपर्ने बताए ।
0 comment