काठमाडौं - रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको जिप पाल्पामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतबार बेलुका ५ बजेतिर पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका- १ पणेनाकी ५५ वर्षिया श्यामकला परियार, वडा नं २ पोखराथोकका २६ वर्षीय चालक रमेश विक, २५ वर्षीया सिता गौतम र २ वर्षका संयोग गौतम रहेका छन्।

दुर्घटना भएको बलेरो जिप निजी सवारी साधन रहेको छ। सालझण्डी अर्घाखाँची ढोरपाटन सडकमा अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रुपमा यात्रु तथा मालसामान बोक्ने गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।