काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाइ सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण सोधेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलका नाममा कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ साथै सर्वोच्चले दुवैपक्षलाई छलफलका लागि बोलाउन भनेको छ ।
गत बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए । राष्ट्रपति पौडेलले बुधबार ’विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो ।
यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन् । तर त्यसपश्चात कुनै बुँदामा संशोधन नगरी तत्कालीन कांग्रेस–माओवादी गठबन्धनले संसदबाट पारित गर्ने निर्णय गरेर बहुमतले पारित भएपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो ।
अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायतले यसबारेमा विरोध जनाएका छन् ।
0 comment