- परीक्षा कोइराला
काठमाडौं – हिरण्य भोजपुरे एक सशक्त गीतकार, संगीतकार, गायक र साहित्यकार हुन् । उनमा कलात्मक जादु छ र प्रस्तुतिमा इमान्दारिता छ । भोजपुरेको गीतहरुमा एकातिर नेपाली लोकगीतका भाका पाइन्छन् भने अर्कातिर लयात्मक नवीन भाव। नेपाली गीतमा आफ्नै पहिचानको रुप दिन सफल गीतकार, गायक भोजपुरे । यस्तै काठमाडौमा जन्मे हुर्केकी गायिका उर्मिला श्रेष्ठ (जो सरकारकी सचिव, लोकसेवाको सदस्य पनि बनिन्) सँगको भेटघाटमा परीक्षा कोइरालाले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।
एक प्रभात धुमिलो थियो । पानी पर्ला जस्तो। हामी हुइकियौ हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ निवास ठेचो। सातदोबाटो हुदै हामी ठेचोको सुनाकोठी आवासमा पुग्यौ। हामीलाई अगुवाइ गर्नु भएको थियो - प्रा डा. बन्धु कोइराला र श्याम थापाले। सहकर्मी मित्र दाई ईश्वर थापाको पनि उपस्थिति थियो। ७.३० मा पुग्ना साथ चियापान, अनि चल्यो प्रश्न उत्तरको सिलसिला । मेरो जिज्ञासा भोजपुरेसँग -
१. यहाको जन्म कहिले भएको हो ?
हिरण्य भोजपुरे भन्छन् “मेरो जन्म वि स १९९९ मंसिर १२ गते भोजपुरमा भएको हो । मेरो बाल्यकाल मातापिताको वात्सल्यमा सुखादपूर्ण वित्यो।"
२. स्मरणीय बाल्यकालको घटना छ कि ?
हिरण्य भोजपुरेको वर्णन अनुसार भोजपुरेको गाउमा पोखरीको खोल्सामा जमेको माछा, भ्यागुता हेर्न रमाइलो लाग्थ्यो । दामाबाट भोजपुर आइरहेकोले जाली रुमाल पाकेटबाट निकालेर माछा मर्छु भन्दा भ्यागुता परेछ। उनले भ्यागुतो समातेर ढुंगामा पछारिरह्यो, यसबाट मलाई वितृष्णा भयो। त्यस्तो घटनापछि त्यो खोल्सा हेर्न कहिल्यै गइन ।
३. यहाको व्यतित्व साहित्यकार, कलाकार, गीतकार, गायक पनि हुनुहुन्छ । बहुआयमिक प्रतिभाको धनी हुनुहुन्छ। त्यो कसरी सम्भव भयो ? यसमा यहाको साधन हो कि ईश्वरीय वरदान ?
हिरण्य भोजपुरेको कथन मेरो आमा नै शब्द र लोकगीतको खानी हुन्। आमाले दाउरा, घास गर्दा ढिकी गर्दा आमासँग गीत सुनेर गाउन थाले । त्यसबेला आमाले बुहार्तनको गीत अन्य त्यो बेलाको समसामयिक गीता गाउनु हुन्थ्यो । उहाले गएको गीत मेरो प्रेरणा हो र स्रोत पनि। २०१८ सालमा नवकलाकुञ्ज भन्ने संस्था खोल्यौ र शुरुमा संगीत राख्ने, लेख्ने गरे, मकवान गढी भन्ने पुरानो कविता लेखे। उर्मिलाले गएका गीतले पनि मलाई निकै प्रोत्साहन गर्यो । नवकलाकुञ्जमा गीत गाउन चाहियो र संगीत पनि। त्यसैले संगीत अलिकति शोख, अलिकति बाध्यता भन्छु। बि स २०२४ सालमा लेकाली सांगीतिक समुहमा म सहित उर्मिला श्रेष्ठ, गणेश रसिक , निर्मल श्रेष्ठ , निर श्रेष्ठ आदि भएर काठमाडौको त्यौड टोलमा प्रारम्भ गर्यौ। यसको पहिलो कार्यक्रम २०२५ सालमा महेन्द्र प्रहरी क्लबमा "छहराको गीत", ट्याम्के डाडा, "ए है है", काफल पाक्यो" जस्ता बाह्रवटा गीतबाट भयो । जसमा सफलता मिल्यो । त्यस्तै राष्ट्रिय नाचघरमा दोस्रो लेकाली सांगीतिक यात्रा पिजडा पनि सफल भयो। यसरी गीत लेख्यौ ,संगीत लेख्यौ र गायौ। यो यात्रा देश विदेश अझै चलिरहेको छ तर धेरै होइन, थोरै।
५. लेकालीको उद्धेश्य के हो ?
उर्मिला श्रेष्ठका अनुसार यो केटाकेटीको गीत गाउने रहर हो । केटाकेटी हुदा खेल्ने र घरमा बाबु आमासँग गीत गाउदै काम गरिन्थ्यो। मैले नेशनल ट्रेडिङ् मा २०१९ सालमा जागिर खादा बहिनी निर्मलालाई गीत गाउँन केदार ठाकुरले लैजानु भयो। पहिले कलाकारितामा जाने मान्छे नराम्रो हुन्छ भन्ने चलन थियो। २०२१ सालमा मेरो हिरण्य भोजपुरेसँग भेट भयो र पछि गणेश रसिकसँग। लेकाली समूह खोल्नुको कारण संगीतको स्तर उकास्न हो। २०२२ सालमा हिरण्य भोजपुरे, मेरो आदिको सामुहिक स्वर र शब्द र संगीतमा रेडियो नेपालबाट "मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहराको देश भन्ने गीत बज्यो।
हिन्दी फिल्मको सुख र रोमान्टिक गीतले समाजको चित्रण गरेन। हिरण्य भोजपुरेले जीवन जस्तो छ , त्यस्तै सांकेतिक रुपमा गीत लेखे। गणेश रसिकले मार्मिक गीत। नेपाली गीत मौलिक गीत - "रातो भाले क्वायक्क क्वाएक सुत्केरीलाई ख्वाए, सुत्केरीको निहु परि टाउको मैले खाए"को प्रसिद्धिले शिखर पुर्यायो। त्यसबेला लेखे, गएका कति गीत प्रसारित भएनन्। यो हुस्सुले छापेको सहरले काठमाडौको चित्रण गर्छ। एकातिर सामाजिक चेतना थिएन। गीत मार्फत समाजमा योगदान गर्न ठाउँठाउँमा कार्यक्रममा गयौ। लेकाली कार्यक्रम शुरु गर्दा मेरो बुबाले पंचायत कालमा शाखा अधिकृत भएको व्यक्तिको जागिर खोस्ला भनेर गीत नगाउन भन्नु भयो। इण्डिया, दार्जिलिंग, क्यानडा आदि देशमा गएर लेकालीले विभिन्न संस्कृतिक र सांगीतिक कार्यक्रम गर्यौ। म २०२२ मा नेशनल ट्रेडिङ् को शाखा अधिकृत, पछि महिला बालबालिका मन्त्रालयको सचिव, लोकसेवा आयोगको सदस्य भए। जागिर, सन्तान, घरव्यवहारले गीत, संगीतमा समय दिन सकिन।
५. गीत /साहित्य /संगीतमा रुचि भएको व्यक्तिलाई यहाले कसरी विकास गर्न सल्लाह दिनु हुन्छ ?
उर्मिलाको बिचारमा संगीत तपस्या हो । त्यसका लागि दिन दिनै रियाज गर्नु पर्छ। यसले आफुलाई आत्मसन्तुष्टि दिन्छ। अहिले गीत संगीत सिक्न खुल्ला छ, तर पहिले डराई डराई संगीत सिक्न जानु पर्थ्यो। मेरो गीत गाउने धोको अझै पुरा भएको छैन। अहा ति दिन, त्यो रहर, अब त वृद्धकाल पनि भयो ।
६. अहिले संगीतलाई थेरापीको रुपमा पनि लिइन्छ, यसमा यहाको अनुभव ?
अहिले नेपालमा पनि आखाको , दातको अस्पतालमा अप्रेसन गर्दा संगीत बजाइन्छ। २२-३० वर्षा देखिको क्यालिफोर्नियामा संगीत थेरापी पनि इस्टिच्यूट रहेछ।
७. जीवन भनेको के हो ?
उर्मिला भोजपुरे अनुसार जीवन जन्म मृत्युको भोगाई हो । जीवन संघर्ष पनि हो । संघर्षमा नडराईकन, नबिराईकन आत्मविश्वासका साथ अगाडि बढेमा सफल हुन्छ। तर शारीरिक, मानिसिक दुख पनि हुन्छ। पहिले मान्छेहरु कम हुन्थे र प्रतिस्पर्धा कम हुन्थ्यो भने अहिले समाजमा अवसर थोरै र प्रतिस्पर्धा धेरै पाइन्छ। यसले समाजलाई डिप्रेसन तर्फ धकेलिरहेको छ। आत्मबिश्वास र उत्साह बढाउने ठाउको व्यवस्था हुनुपर्छ साथै अध्यात्ममा लग्न प्रोत्साहन गर्न जरुरी छ ।
धनी मध्य, निम्न वर्गीय मान्छे, कुलीन वा सहरिया जसले पनि संघर्ष गर्न पर्छ नै । मेरो बिचारमा हरेक व्यक्तिले आफ्नो जीवन सफल बनाउन जीवन वृतिको काम - नोकरी, खेति, उद्योग, व्यापार आदि बाहेक साहित्य, वा कला, संगीत वा समाजसेवा मा लग्न जरुरी छ । म त गीत संगीतमा रमाउने घर व्यवहार गर्ने बाहेक भजन र पुजामा पनि रमाउछु । यसले मलाई समय काट्न सजिलो त हुन्छ नै साथै मलाई आत्म शान्ति प्राप्त हुन्छ। सकारात्मक सोचाइले मन चंगा हुन्छ। आखिर जनक र बुद्धका देशका नागरिक नै हौ हामी ।
करिब दुई घण्टाको बसाई पछि भोजपुरेको हासो सुन्दै बिदा हुने बखतमा भोजपुरेले भन्न छुटाएनन् -अमेरीका जान अघि एक पटक गीत संगीत सँगैको रमाइलोमा बस्ने व्यवस्था मिलाउनु पर्ला ।



0 comment