काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका पूर्व बरिष्ठ निरीक्षक शशी कुमार यादवविरुद्ध ४ करोड बढिको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यादवले सार्वजनिक पदमा रहँदा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआइ ४ करोड ४७ लाख ३४ हजार २१२ बराबरको सम्पत्ति ऋणात्मक देखिएकाले उक्त रकमको वैधानिक स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ।
यादव २०४६ साल जेठ महिना ८ गतेदेखि २०७९ साल असरा मसान्त सार्वजनिक पदमा रहेका थिए। सोही अवधिमा कूल २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ आय आर्जन गरेको देखिनु पर्नेमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरेको देखिएको छ। बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ती अमिल्दो र अस्वभाविक देखिएकाले आर्जित सम्पत्तीको अनुपातमा मनासिव नदेखिने किसिमको यादव र उनको परिवारले उच्चस्तरको जीवन यापन गरेको प्रमाण भेटिएको अख्तियारको ठम्याइ छ।
सार्वजनिक पदको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टार गरेको पाइएकाले यादवविरुद्ध ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरिएको छ।
यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र स्रोत नखुल्ने सम्पत्तीबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको अख्तियारको ठहर छ।
आयोगले उनीहरू तीनैजनालाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तीबाट बढे बढाइ हाल कायम रहेको घर, जग्गा र बैंक मौज्दात समेतबाट विगो जफत गरी पाउन मागदावी सहित आरोपपत्र दायर गरेको हो।
0 comment