काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। 

यूएईको सारजहाबाट सोमबार बिहान एयर अरबियाको जहाजबाट काठमाडौं आएका भारतीय नागरिक मोहमद हुसन सुनका तीन डल्लासहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दले भने, 'भारत केरलाका २५ वर्षीय मोहम्मद हुसेन व्यापारिक भिसामा युएई गएको देखिन्छ। विमानस्थलमा उसको हिँडाइ केही असहज देखिन्थ्यो। विमानस्थल सुरक्षा प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा उनको शरीरमा केमिकल मिसाइएको तरल अवस्थामा १०७० ग्राम सुन भेटिएको हो।' 

विमानस्थलमा चेकजाँचका क्रममा उनको हाउभाउ शंका लागेपछि विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अर्धझोल अवस्थामा भेटिएको सुन हुसेनले मलद्वारमा लुकाएर ल्याएका थिए। उनलाई ट्वाइलेटमा लगेर सुन बाहिर निकालिएको थियो। योसँगै अन्य पनि सुन भएको आशंकामा प्रहरीले हुसेनलाई अस्पताल लगेर एक्सरे र सिटिस्क्यान गराएको थियो। 

थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ।