काठमाडौं - नागरिकताबाट वञ्चित जन्मसिद्ध नागरिकका सन्तानले वीरगन्जमा प्रदर्शन गरेका छन्।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने माग गर्दै उनीहरुले वीरगन्जमा विरोध र्याली प्रदर्शन गर्दै कोणसभा गरेका हुन्। सोमबार दिउँसो घण्टाघर चोकबाट सुरु विरोध र्याली माइस्थान, आदर्शनगर, अलखीयामठ, घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।
नागरिकता विहीन नागरिक संघर्ष समिति पर्साको अगुवाइमा भएको विरोध र्याली र कोणसभामा सहभागीले नागरिकता विद्येयक प्रमाणित गर , जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ, आमाको नामबाट पनि नागरिकता देऊ लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर प्रदर्शन गरेका थिए।
नागरिकता विहीन नागरिक संघर्ष समिति पर्साका अध्यक्ष विवेक रौनियारले बुबा आमा दुबै नेपाली नागरिक भए पनि आफूहरु अनागरिक भएर बाँच्नु परेको गुनासो गरे। उनले भने, ‘कि त राज्यले हामीलाई नेपाली नागरिकता देओस् होइन भने हामीलाई अनागरिक भनेर यो देशबाट निकाला गरिदिओस्।’
नागरिकता नहुँदा बैंकमा खाता खोल्नदेखि उच्च शिक्षा अध्ययन गर्नबाट समेत वञ्चित हुनु परेको दुखेसो उनले सुनाए। प्रदर्शनमा सहभागी समितिका उपाध्यक्ष धिरज साहको पनि दुखेसो विवेकको जस्तै थियो। उनले भने, ‘बुबा आमा दुवै नेपाली नागरिक हुनुहुन्छ तर म उहाँहरुले नै जन्माएको सन्तान जन्मेदेखि नै अनागरिक भएर बाँचेको छु। नागरिकता नहुँदा जागिर पाएको छैन। अरु त के भन्ने सिमकार्ड लिनबाट पनि वञ्चित हुनुपरेको पीडा छ। ’
संसदको दुवै सदनबाट पारित भइसकेको नागरिक विद्येयक यसअघिका राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरिदिंदा आफूहरु अनागरिक भएर बाँच्नु परेको भन्दै प्रदर्शनमा सहभागी सावन कलवारले पूर्वराष्ट्रपति भण्डारीप्रति आक्रोश नै पाखे। कलवारले भने, ‘स्नातक तहको पढाइ सकिसकेको छु, उमेर पनि २२-२३ वर्ष भइसक्यो तर मसँग नागरिकता छैन। जसका कारण देशमै जागिर पाउन सकेको छैन। विदेश जान पनि सकेको छैन।'
नेपालकको संविधानमै २०६३ सालसम्म जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उल्लेख हुँदासमेत सरकारले आफूहरुलाई वर्षौंदेखि अनागरिक बनाएर राखेको गुनासो उनले गरे।
सरकारले राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण गराएर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन अब पनि ढिला गरे देशभरका नागरिकताविहीन युवा युवतीह सडक आन्दोलनमा उत्रने चेतावनी समितिका अध्यक्ष रौनियारले दिए। रौनियारले भने, ‘सरकाले अब पनि हाम्रो पीडा सुनेन भने हामी जस्तोसुकै कदम उठाउन बाध्य हुने छौं जुन सरकारका लागि आत्मघाती कदम हुनेछ।'
0 comment