काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने हिंसा, शोषण र विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । साथै महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने बताएका छन ।
“महिला हक अधिकार सबैको साझा सरोकार” भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना दिंदै उक्त कुरा बताएका हुन् ।
महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न, निर्णय प्रकियामा महिलाको सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाहरूलाई आर्थिक रुपले समृद्ध बनाउन नेपाल सरकारबाट नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयन भइरहेको राष्ट्रपति पौडेलले बताएका छन् ।
’कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा अझै महिलाहरू पूर्ण रूपमा सुरक्षित छैनन् । महिला तथा बालबालिका माथि हुने हिंसाजन्य घटनाहरूमा बृद्धि हुँदै जानु आफैंमा अत्यन्त दुखद् कुरा हो’, राष्ट्रपतिले भने, ’त्यस्तै बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोपलगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्पराका साथै हत्या‚ बलात्कार र एसिड आक्रमणजस्ता जघन्य हिंसा आजको परिवेशमा समेत कायम रहनु अत्यन्त दुःखद् कुरा हो । यस्ता क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले प्राथमिकतामा राखेर महिला तथा बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण, विभेद, भेदभाव र दुर्व्यवहारको अन्त्य गर्न जरूरी छ ।’
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँचलगायतका विषयमा सञ्चालित महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन जरूरी भएको उल्लेख गरे। महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक हुने उनले उल्लेख गरे।
महिलाहरुले केही सुविधा तथा आरक्षण प्राप्त गरेका छन् तर हालसम्म तुलनात्मक रुपमा सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेका उनको भनाइ छ । यो दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाहरूको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् उनले शुभकामना व्यक्त गरेका छन् ।
0 comment