काठमाडौं - प्रहरीले झन्डै दुई करोड बराबरको रक्तचन्दनको तेलसहित कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाडौंको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई कलंकी बस्ने ज्ञानबहादुर ओली, रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल र धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा रहेका छन्।
काठमाडौं–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर दुई लाख ५० हजारका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
0 comment