काठमाडौं - वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमण मुक्त बनाउनका लागि सरकारलाई दबाब दिन वीरगन्जदेखि पैदलयात्रा गरेर काठमाडौं पुगेका अभियन्ताहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्।

जेष्ठ ४ गते वीरगन्जस्थित सिर्सिया नदीनको प्रदूषित पानी बोतलमा भरेर पैदलयात्रा थालेका अभियन्ताहरूले आइतबार ११ औं दिन काठमाडौं पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन्। 

चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा आइतबार काठमाडौं पुगेका करिब २५ जना अभियन्ता दिउँसो १ बजेदेखि धर्नामा बसेको अभियानका संरक्षक सरोज रायले बताए। 

‘सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमण मुक्त बनाउनुपर्ने हाम्रो माग हो, त्यसका लागि सरकारले नदी प्रदूषण नियन्त्रण बोर्ड गठन गर्नुपर्छ', रायले भने, ‘हाम्रा यी माग सरकारले सम्बोधन नगरेसम्म धर्ना अनिश्चितकालसम्म जारी रहन्छ।

वीरगन्जबाट ल्याइएको सिर्सिया नदीको प्रदूषित पानी सिंहदरबारमै पुगेर प्रधानमन्त्रीलाई उपहारका रूपमा बुझाउने कार्यक्रम रहेको उनले बताए। 

सोमबार सरकारको बजेट भाषण रहेकाले मंगलबार उक्त प्रदूषित पानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपहारका रुपमा बुझाउने आफूहरूको तयारी रहेको जानकारी गराए। 

हेटौंडा, नारायणगढ, मुग्लिङ, मलेखु, नौबिसे हुँदै आइतबार दिउँसो ११ औं दिनमा आफूहरू काठमाडौं पुगेको धर्नामा बसेका अभियानका संयोजक सुनील यादवले बताए।