काठमाडौं - हेटौंडामा निजी विद्यालयका शिक्षकको कुटाइबाट एक विद्यार्थी को हात भाँचिएको छ ।
हेटौंडा उपमहानगरपालिका –११ स्थित हेटौंडा एकेडेमीका शिक्षक सरोज श्रेष्ठले कुटपिट गर्दा कक्षा ६ मा अध्ययनरत १२ वर्षका सिर्जन उप्रेतीको बाँया हात दुई ठाउँमा भाँचिएको हो । सिर्जनका बुवा केदार उप्रेतीका अनुसार गएको फागुन २८ गते विद्यालयको अनुशासन नमानेको भन्दै सिर्जनमाथि श्रेष्ठले निर्मम कुटपिट गरेका थिए । कुटपिटपश्चात सिर्जनका बुवा केदारले विद्यालयका प्रधानाध्यापक गौरी चिमरियासमक्ष छोरालाई कुटपिट भएको गुनासो सुनाउन पुगेका थिए । विद्यालयले बेवास्ता गरेपछि केदार आफैँ चुरेहिल अस्पताल र हेटौंडा मोडेल अस्पतालमा छोराको उपचारका लागि धाइरहेका छन् ।
‘अस्पतालले छोराको बायाँ हात दुई ठाउँमा भाँचिएको र स्टिल हाल्नुपर्छ भनेको छ । करिब १ लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्यो, मसँग अब पैसा पनि छैन । छोरोको उपचार पनि पूर्ण रुपमा भइसकेको छैन,' केदारले दुखेसो पोखे ।
त्यस्तै विद्यालयका गणित शिक्षक धनबहादुर विश्वकर्माले शुक्रबार सिर्जनका भाइ कक्षा ५ मा अध्ययनरत १० वर्षका संकल्प उप्रेतीमाथि निर्घात कुटपिट गरे । होमवर्क नगरेको भन्दै शिक्षकले कुटेपछि संकल्प पनि घाइते भएका छन् । उनको शरीरभरी निलडाम रहेको उनका अभिभावकले जनाएका छन् ।
विद्यालयकी प्रधानाध्यापक गौरी चिमरियाले विद्यार्थीमाथि निर्मम कुटपिट भएको स्वीकार गरिन् । ‘बालबालिकामाथि कुटपिट गर्ने हाम्रो नीति छैन । शिक्षकबाट कमजोरी हुन गएको हो । पीडितपक्ष समन्वय गर्न आउनुभयो भने हामी विद्यार्थीको उपचार गर्छौं,’ उनले भनिन् ।
अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकको गुनासो छ ।
0 comment