काठमाडौं – नेपाल भौगोलिक रुपले सानो मुलुक भए पनि समाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक दृष्टिले विविधता पाईन्छ । सामाजिक संरचनाभित्र जातिय हिसावमा उचनिच र धार्मिक रुपले छुवाछुत प्रथा विद्यमान छ । नेपाल बाहेक भारतीय महादिपका देशहरु जस्तै (भारत, पाकिस्तान र बंगलादेश)मा पनी जातिय विभेद तथा छुवाछुत प्रथा कायमै रहेको छ ।

नेपालमा हिन्द धर्मका बाहुल्यता रहेकाले योसंग अन्तरनिहित जातिय छुवाछुत व्यवस्थाले गाजेको छ । हिन्दु धर्मलाइ अपनाउन ऋग्वेदमा उल्लेखित वर्णाश्रम व्यवस्थाले मानवलाई ४ वर्णमा विभाजित गरेको छ (ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र्) । यी ४ वर्ण मध्ये शुद्र, जसलाइ यस व्यवस्था भित्र अछुुतका रुपमा लिइन्छ । धर्मका आधारमा जाति व्यवस्था र जातिका आधारमा पेशा व्यवसाय, जात, वंश र पेशाको आधारमा प्रचलित जातीय भेदभाव र छुवाछुतका सामाजिक व्यवहारलाई शासकीय इतिहासका मध्यकालिन युगमा अर्थात मल्ल वंशीय शासनकालमा राजा जयस्थिति मल्लले मनुस्मतिमा आधारित मानव न्याय शास्त्र नामकका धार्मिक ग्रन्थ तयार गरेका थिए ।

त्यसैलाई शासन विधीका रुपमा लागु गरी निश्चित पेशा वा श्रममा आवद्ध जात समुदायलाइ शुद्र र अछुत भनि तोकिदिए । अछुतका हातका पानी नचल्ने, सार्वजनिक स्थलमा उपस्थित हुन नपाउने, धार्मिक कार्य गर्न एवं अन्य गर्न नपाउने वा तोकिएका बाहेक अन्य व्यवसाय गर्न नपाउने उच– निच जातका बीच विहावारी गर्न नपाउने । यस्ता निषेधात्मक नियम बनाइ त्यस्ता कार्य गरेमा धार्मिक सामाजिक अपराध ठहर्ने र त्यस्ता अपराधी शुद्र र अछुत गरेमा अन्य जातलाई हुने सजायका दोब्बर सजाय हुने व्यवस्था गरिएको थियो ।

उक्त प्रथा आधुनिक युग वा शाह वंशिय शासनकालमा पनि निरन्तर रहयो । नेपालका तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणाले बि.स. १९१० मा भारतका धार्मिक विद्वानहरुको परामर्शमा नेपालको पहिलो मुलुकी ऐन मस्यौदा गरी लागु गरे जसले धर्मशास्त्रका आधारमा कायम रहेको जातीय भेदभाव र छुवाछुतलाइ कानुनी आधारमा नेपाली समाजलाई जातीय विभाजन गरियो र धार्मिक मान्यता र परम्पराका आधारमा सामाजिक अपराध कायम गरियो र पहिलेका जस्तो गरी एक वा एक प्रकतिका अपराधमा पनि अरुलाइ भन्दा शुद्रलाइ गुणात्मक रुपमा बढी सजाय तोकियो ।

संसारभर कुनै न कुनै रुपमा प्रचलित जातीय विभेदलाइ समाप्त गर्ने उद्घेश्यले सन १९६५ मार्च २१ मा सम्पन्न सयुक्त राष्ट संघको साधारण सभाबाट “सबै किसिमका जातीय भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासंन्धि” पारित भयो । मानव–मानव बीच जातीय दृष्टिले भेदभाव गर्न नपाइने अवधारणा रहेको उक्त महासंन्धिमा नेपालले सन १९७१ जनवरी ३० मा हस्ताक्षर गरी तदनुरुप जातीय भेदभाब विरुद्धको ऐन कानून तथा नीति नियमहरु तर्जुमा गर्ने प्रयास गरेको पाईन्छ । विशेष गरि सामाजिक, राजनैतिक आर्थिक हिसाबले दलित जातिका समाजमा निम्नस्तरका हैसियत रहेको पाईन्छ ।

यस्ता वर्ण व्यवस्थाभित्र पर्ने जातीहरुलाइ सामाजिक भेदभाव, छोएको पानी नचल्ने, मठ मन्दिर भित्र पस्न बन्देज लगाउने, गैरदलितका घर भित्र पस्न नदिने, मालिकको स्याहार सुसारका काम गर्ने, सामाजिक क्रियाकलापमा छुट्टै बस्ने स्थान तोकिदिने विभेद समाजमा व्याप्त छ । जातमा आधारित विभेद नेपालको एक मुख्य सामाजिक समस्या हो । दलितलाई अहिले पनि नेपाली समाजमा अछुतका रुपमा व्यवहार गरिन्छ । उच र निचका भावना नेपालमा व्याप्त छ ।

उच जात र निच जात विच अहिले पनि समाजमा ठूलो खाडल रहेको छ । जातिय भेदभाव र छुवाछुत गरेमा दण्डनिय हुने मुलुकी ऐन २०२० ले नेपालको कानुनमा लेखिसकेको छ र त्यस भन्दा पछाडी बनेका ऐन कानुनमा उल्लेख भईसकेको छ । नेपाल अधिराज्यको संविधान (२०४७ भाग ३ को धारा ३) मा पनि सबै जात–जाति, वर्ग, लिङ्ग, धर्म र समदायका व्यक्तिहरुले समान रुपमा मानव अधिकारका प्रयोग गर्न पाउने प्रावधानका व्यवस्था गरिएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ ले छुवाछुत तथा जातिय विभेद विरुद्दका हक भनि धारा १४ मा मौलिकहकका रुपमा उल्लेख गरेको छ । यो छुवाछुत र जातिय विभेद दण्डनिय कानुनले बनाए पनि समाजमा छुवाछुत र जातिय विभेदका पर्था कायमै छ । जातमा आधारित विभेद नेपालको एक मुख्य सामाजिक समस्या हो । उच र निचका भावना नेपालमा व्याप्त छ । जुन नेपालका दलितका लागि बनेका कानुनको कार्यान्वयनका पक्षमा ठूलो बाधकका रुपमा रहेको छ ।

यति मात्र नभएर विवाह जस्ता पवित्र सामाजिक संस्थालाई निरन्तरता दिन एकजना दलित युवा वा युवतीले अर्को गैर दलित युवा वा युवतीसंग विवाह गर्दा गैरदलित समाजले तिरस्कार गर्ने, सामाजिक अवहेलना तथा गाउ निकाला समेत गरेको घटनाहरु देखिएको, सुनिएको एवं विभिन्न संचार माध्यमले पनि अगाडी ल्याईरहेका छन । यसरी वयस्क पुरुष वा महिलाले विवाह गरेर या संस्कारलाई अगाढी बढाउदा किन, कसरी तिरस्कृत हुनु परिरहेको छ ? यस्को ज्वालन्त उदाहारण हो सोती घटना पीडितले कहिले पाउने न्याय ?

जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित ६ जनाको सामूहिक हत्या गरेको जेठ १० गते तीन वर्ष पुग्यो। तर, नवराजकी आमा उर्मिला विकको आँखा अहिले पनि रसाइरहन्छन् । छोराको सम्झनामा उनी टोलाइरहन्छिन् । हत्याकाण्डको ‘मुख्य दोषी’ छुट्दा न्यायको आशा मर्दै गएको उनले बताइन् । ‘उनीहरूलाई जन्मकैद भए छोराको आत्मले शान्ति पाउने थियो । हामीले न्याय पाउने थियौं,’ उनले भनिन्, ‘न्यायकै लागि तीन÷चारपटक काठमाडौं पुगिसक्यौं । रुकुम त जाने–आउने भइरहेको छ ।’ पटक–पटक फैसलाको पेसी सरिरहेको छ ।

गत वैशाख २४ मा पेसी तोकिएकोमा जिल्ला न्यायाधीश विदेश भ्रमणमा रहेकाले जेठ ३० मा पेसी सारिएको छ । उर्मिला व्यग्रतापूर्वक जेठ ३० गतेलाई पर्खिरहेकी छन् । रुकुम जिल्ला अदालतले उक्त दिन अन्तिम फैसलाको पेसी तोकेको छ । तर, न्यायका लागि पर्खिनुपरेको तीन वर्ष धेरै लामो भएको उनी बताउँछिन् । आफ्ना छोराको हत्या गर्नेलाई कारबाहीका लागि आमाहरूले आवाज उठाउन भने छाडेका छैनन् । कहिले रुकुम अदालत पुग्छन् त कहिले धर्ना बस्न काठमाडौंको माइतीघर । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाउँलेको कुटाइबाट मारिए ।

उनी मात्र होइन उनलाई साथ दिन गएका अरू पाँच जना युवाहरू पनि सँगै मारिए । नवराजसहित ६ जनाको ज्यान गयो । नवराजको मल्ल थरकी एक किशोरीसँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवारबीच सम्बन्ध राम्रो थिएन । छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको लागि छुटाउन चाहन्थ्यो तर प्रेमी–प्रेमिकाले त्यो सम्बन्धलाई बिहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे ।

केटा कथित तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाइ छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभावलगायतको अभियोगमा मुद्दा दायर भएको र ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २३ जना पुर्पक्षका लागि जेलमा रहेको जिल्ला अदालत, रुकुम पश्चिमका तहसिलदार विष्णुप्रसाद पौडेलले बताए ।

मुद्दाको फैसला अहिलेसम्म भएको छैन । आगामी जेठ ३० गते पेशी तोकिएकोे तहसिलदार पौडेलले बताए । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक त्यो दिन बेलुका करिब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली सोती पुग्यो । केटीको घरमा नपुग्दै दलितको छोरो ठकुरीकी छोरी लिन आउने आँट गर्ने भन्दै सोतीका स्थानियले केटाहरूलाई लखेट्दै भेरी किनारमा कुटिकुटी मारेर ६ जनालाई फालिदिए । बाँकी अरु भागेर ज्यान जोगाए । नवराजसहित भेरी नगरपालिका–४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका–११ का गोविन्द शाही र चौरजहारीका टीकाराम सुनार घटनामा परि ज्यान गुमाएका थिए । नबराजकी आमा उर्मिला भन्छिन् ‘अहिलेसम्म न्याय पाएका छैनौं । कति छुटिसके रे अहिलेसम्म फैसला भएको छैन । दोषीलाई जन्मकैद होस्, मेरो छोरो मरे पनि न्याय नमरोस् ।’