काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

मंगलबार साँझ दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजका लागि सुवास गुरुङले खेलको ६३औं मिनेटमा निर्णायक गोल गरे । 

जितसँगै चर्च ब्वाइजले १८ खेलबाट ३३ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक जोडेको सातदोबाटो पाचौँ स्थानमा छ ।

आजै भएको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस अर्को विभागीय टिम एपीएफलाई १–० ले हराउँदै रेलिगेसन जोन बाट बाहिर निस्कन सफल भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसका लागी ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको एपीएफ हेड टु हेडका आधारमा  ११औं स्थानमा छ ।

आजै भएको अर्को खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले मिडफिल्डबाट शानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो । तर ८६ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको हेडर गोलमा परिणत भएपछी खेल बराबरीमा टुङ्गियो ।

बराबरीसँगै १८ खेलमा २६ अंक जोड्दै थ्री स्टार चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा छ ।