काठमाडौं – अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोट विशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । संस्कृतमा यसलाई आमलक भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । यसको अंग्रेजी नाम ईम्बिलक माईरोबलान (Emblic Myrobalan) हो । वैज्ञानिक नम फाईलेन्थस् ईम्बिलका (Phyllan Thus Emblica) हो । अंग्रेजीमा छोटकरीमा भन्दा यम्बिक (Emblic) मात्र भन्ने गरिन्छ । यसको अर्काे वैज्ञानिक नाम ईम्बिलका अफिसिन्यालिस (Emblica Officinalis) हो । यो वनस्पति युफोर्बिएसी (Euphorbiaceae) परिवार समूहमा पर्दछ ।
त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको समिश्रणको मात्राका सम्बन्धमा आयुर्वेदका ग्रन्थमा समान धारणा छैन । (भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।
यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् ।
आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने, सुन्निएको कलेजो, ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने, रक्तअल्पत्ता, कमलपित्तमा पनि उपयोगी मानिन्छ ।
सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ, भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू सङ्कलन गर्ने गरिन्छ । लगाइएको ७÷८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू सङ्कलन गर्ने गरिन्छ । करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।
जात :
अमलाका मुख्यतः साना र ठुला गरी दुई जात हुन्छन् । सानो अमलालाई काठे–अमला पनि भनिन्छ । आयुर्वेदमा एक अर्को क्षुद्रधात्री नामक जङ्गली अमलाका बारेमा पनि उल्लेख भएको पाइन्छ । यसको स्पष्ट पहिचान हुन सकेको छैन । अन्य फरक किसिमका भुइँ–अमला र पानी–अमला नामका दुई वनस्पतिहरू पनि हुन्छन् ।
स्वाद :
अमलामा तितो, गुलियो, टर्रो, अमिलो र पिरो रस हुन्छ ।
आयुर्वेदमा बताइएका गुण र निम्न रोगहरुको फाईदाहरु :
– रक्तपित्त : मुख, कान, आँखा, नाक, गुदद्वार तथा मूत्रद्वारबाट रगत बहने रोग ।
– प्रमेह : वीर्य अथवा शरीरका अरू धातु पातलिएर पिसाबसँग मिसिएर बाहिर निस्कने विभिन्न रोगहरू ।
– वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ।
– कब्जियत ।
– शरीर चिलाउने रोग, कुष्ठरोग, जरो, तिर्खा–रोग ।
– डाह, वाकवाकी र सुजन ।
– यसको फलले थकाई, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग) र विष्टम्भ (दिसा रोकिएर पेट फुल्ने रोग विशेष) लाई शान्त पार्दछ ।
– यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
– अमलाको अर्क (आयुर्वेदीक मदिरा)ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ ।
– सामान्यतः अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
– यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ ।
– अमला आँखाका लागि हितकर हुन्छ ।
– यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ ।
– अमला पकाइएको रसमा पुनः अमलाकै धुलो हाली मन्द आँचमा उमालेर लेदो बनेपछि त्यसलाई घिउ र दूधसँग फिटेर खाने गरेमा यौन–क्षमता वृद्धि हुन्छ ।
– अमलाले मानिसले खाएपिएको कुरासँग विद्वेष (वैरभाव) नगरी ती शरीरभित्र जहाँ छन् त्यहीँ गई ती कुरासँग मिसिएर तिनको दोष नष्ट गर्ने (वान्ता वा दिसा नलगाई रोग ठिक गर्ने) काम गर्दछ ।
– सामान्यतः अमिलो रस खानाले शरीरमा पित्तको मात्रा बढ्दछ तर अमलाको अमिलोले पित्त बढ्दैन ।
– अमलाको तेलको नस लिनाले टाउकाका सबै रोग नाश हुन्छन् । अमलालाई गाईको घिउमा पिसी टाउकामा दल्नाले र (सो ओखती गर्ने अवधिभर) चिल्लो र तात्तातो खानेकुरा खाने गर्नाले सबै खालका टाउकाका रोग नाश हुन्छन् । प्रमेहका रोगीले अमलाको रस बेसार र महसँग फिटेर खाने गर्नू । अमलाको रसमा भिजाइएको अमलाकै धुलो मह, घिउ र सखरसँग मिसाएर चाटी दूध पिउने गरेमा यौनशक्ति बढ्दछ ।
– दैनिक एउटा अमला पिसेर नदी, जलाशय वा वर्षाको पानीलाई कालो (फलामको) भाँडामा उमाली लेदो बनाएर खाने गरे स्त्रीको शरीर दुब्लो हुन्छ ।
– खाना खानु भन्दा अघि वा पछि जतिखेर खाएपनि अमला सजिलै पच्दछ र अमृततुल्य हुन्छ ।
0 comment