काठमाडौं – बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञका रूपमा एक परिचित व्यक्ति पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका अन्दाजी ७५ वर्षीय मदन राई रहेको प्रहरीले जनाएको छ । राई शुक्रबार दिउँसो खोटाङबाट पक्राउ परेका हुन् ।
शुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईले फाउन्डेसनमा बसेर पढ्ने बालिकाहरूलाई बारम्बार यौन दुर्व्यवहार गरेको आरोप छ । वृद्ध अवस्थाका राईले आफ्नो नग्न शरीर देखाएर बालिकाहरूमाथि अश्लिल हर्कत गर्ने, गोप्य अंगहरू छुन लगाउने, बालिकाका संवेदनशील अंग चलाइदिने, शारीरिक सम्पर्कका लागि दबाब दिने लगायतका गतिविधि गर्ने गरेको कुरा बाहिरिए पछि प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो ।
प्रहरीको सम्पर्कमा आएकी १ जना बालिकाले उनीविरुद्ध लिखित जाहेरी दिएपछि कोसी प्रदेशका प्रहरी प्रमुख डी. आईजी राजेशनाथ बास्तोलाको निर्देशनमा राईलाई दिउँसो १२ बजेतिर खोटाङ प्रहरीले राईलाई पक्राउ गरेको हो ।
डी. आईजी बास्तोलाले राईलाई नियन्त्रणमा लिएर पीडित पक्षले दिएको जाहेरीका आधारमा कानुन अनुसार कारबाही अघि बढाउन निर्देशन दिएका थिए । राईले बालिकाहरूलाई लक्षित गरेर अश्लील हर्कत र दुर्व्यवहार गरेका धेरै प्रमाणहरू पनि प्रहरीले संकलन गरेको छ । होस्टलमा बसेका बालिकाहरूलाई राईले बारम्बार यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट पनी खुलेको छ ।
अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरिएको मुकारुङको भनाइ छ ।
मदन राईले दिएका यौनजन्य र अश्लिल अभिव्यक्तिहरु सोसल मिडियामा भाइरल हुँदै आएका थिए ।
0 comment