काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनएफसिसी) का पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप- २९) मा नेपालको सहभागिता प्रभावकारी रुपमा भइरहेको बताउनुभएको छ ।
उक्त सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा उहाँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सम्मेलनमा नेपालले प्राथमिकताका साथ आफ्ना मुद्दा उठाइरहेको र सोही विषयसँग सम्बन्धित विभिन्न उच्चस्तरीय भेटवार्ता समेत भएको बताउनुभयो ।
उक्त सम्मेलनमा नेपाललाई जलवायु सङ्कटसँग जुध्नका लागि विभिन्न अनुदान उपलब्ध गराउने लगायतका विषयमा सम्झौता समेत भएका छन् ।
सम्मेलनमा मन्त्रालयलका सहसचिव धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदर्शीतामा अभिवृद्धिसम्बन्धी, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जिव राईले क्षमता अभिवृद्धि, धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दिपा ओलीले समावेशिताका विषयगत समूहको नेतृत्व गरी नेपालका तर्फबाट प्राविधिक विषयमा समेत भाग लिइरहनुभएको उहाँले बताउनुभयो ।
सम्मेलनकै दौरानमा मन्त्री शाहीसँग बाङ्लादेशका वन, वातावरण र जलवायु परिर्वतन सम्बन्धी मन्त्री स्येदा रिजवाना हसन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाहकार सेल्विन हार्ट, ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्यूजीईओ) का अध्यक्ष सईद मोहम्मद अल ताएर, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्री, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथे, एसियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमन्यम लगायतको छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता भएको थियो ।
भेटवार्तामा मन्त्री शाहीले नेपालको हित र चासोका विषयका साथै आफ्ना मुद्दाका बारेमा समेत कुरा गरेको जानकारी गराउनुभयो ।
0 comment