काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले हतकडी नलगाएको विषयलाई लिएर अहिले सर्वत्र चर्चा चली रहेको छ ।
सामान्यतया कुनै अपराधमा संलग्न भएको व्यक्ति आरोप लागेपछि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले हतकडी लगाउँछ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने प्रहरीले हतकडी लगाएन ।
पक्राउ परेपछि प्रहरी कार्यालय ल्याउँदा होस् या जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा होस् या म्याद थप गर्नको लागि जिल्ला अदालत लैजाँदै गर्दा प्रहरीले हतकडी लगाउने प्रचलन देखिन्छ । तर आश्चार्यको कुरा खाँण बिना हतकडी नै प्रहरीको गाडीमा चढेका थिए ।
खाँणलाई किन हतकडी न लागएको भन्ने विषयमा नेपाल प्रहरीका सहप्रवक्ता तथा एसएसपी दीपेन्द्र जीसी यसो भन्नु हुन्छ । पूर्वगृहमन्त्रीको केसमा अनुसन्धान गर्ने टोलीले उहाँलाई भाग्नुहुन्न भन्ने विश्वास गरेकाले हतकडी नलगाएको हुनुपर्ने दाबी गर्नु हुन्छ । उनी भन्छन्, ‘आरोपीलाई नियन्त्रणमा लिने निष्पक्ष अनुसन्धान गर्नको लागि हो, अनुसन्धानमा बाधा पुगेको छैन भने हतकडी लगाउनुपर्ने बाध्यता प्रहरीलाई छैन ।’ यो त नियन्त्रणमा लिन जाने कमान्डरको स्वविवेकले निर्णय लिने कुरा हो । यसको जिम्मा उक्त टोलीलाई नै हुन्छ । नियन्त्रणमा लिएको व्यक्ति भागेको, फरार भएको जिम्मा पनि उसले नै लिने हो ।’ पूर्वगृहमन्त्री भएरै विशेष सुविधा नदिएको उनले दाबी गरे ।
तर बलात्कार आरोपमा विदेश रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल फर्कंदा भने प्रहरीले विमानस्थलबाटै हतकडी लगाएको थियो । अन्य आरोपी नियन्त्रण लिँदा पनि प्रहरीले हतकडी लगाउने प्रचलन रहेकोछ । तर यो प्रकरणमा पूर्वगृहमन्त्री खाँणलाई ती कुरा छुट भएको देखियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बालकृष्ण खाँण गृहमन्त्री रहेको अवस्थामा नक्कली शरणार्थी खडा गर्ने गिरोहका लागि काम गरेको र पैसासमेत बुझेको प्रमाण प्रहरीले फेला पारेको छ । उनी संलग्न प्रकरणको अनुसन्धान अगाडि बढाउनका लागि बिहीबार नै उनको सामान्य बयान लिइएको छ । शुक्रबार पनि पुनः बयान जारी राख्ने प्रहरी स्रोतले बतायो ।
यस प्रकरणमा खाँणसहित सुरक्षाविज्ञ इन्द्रजित राई, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार रहेकाछन् । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको सुरक्षाविज्ञ इन्द्रजित राईका छोरा निरज राई पनि फरार रहेका छन् ।
0 comment