काठमाडौं - नेपाल-भारत सीमा क्षेत्रको दशगजामा डोजर चलेको छ।
दशगजा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने अभियानअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयमा डोजर चलाइएको हो। यसअघि नै सूचना जारी गरेर अतिक्रमित दशगजा क्षेत्र खाली गर्न आग्रह गरेपनि नमानेपछि भारतको सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र सशस्त्र प्रहरी बलसँगको समन्वयमा दशगजा क्षेत्रमा पहिलोपटक डोजर प्रयोग गरेको हो। डोजर चल्न थालेपछि अतिक्रमण गरी संरचना बनाएर दशगजा कब्जा गरी बसेकाहरुबीच भागाभाग मच्चिएको थियो।
ठूलो संख्याका भारतीय र केही नेपालीले घरटहरा बनाएर लामो समयदेखि दशगजा कब्जा गरी बसेका थिए। विशेष गरेर दशगजामा भारतीयको हालीमुहाली चल्थ्यो। अवैध संरचना हटाउने क्रममा भारतको टिकुलिया र विराटनगर महानगरपालिका–१६ दरैयाको सीमा क्षेत्रको दशगजामा बनाइएका ५५ वटा घरटहरा भत्काइएको छ। जसमा ५३ वटा भारतीय र २ वटा नेपाली नागरिकले बनाएका घरहरु परेका छन्।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाका अनुसार टिकुलिया–दरैयाबीचको १८० नम्बर पिलरदेखि १८०/१९ सम्म लगभग १ किलोमिटरजति क्षेत्रमा बनाइएका संरचना हटाएर दशगजा क्षेत्र खाली गरिएको छ। ‘यो क्षेत्रमा बनाइएका ५५ वटा घरटहरा भत्काइएको छ,’ उनले भने, ‘त्यसमा ५३ वटा भारतीय र २ वटा नेपालीका घरहरु परेका छन्।’
त्योबाहेक भारत जोगवनीको मेनरोड र विराटनगर–१८ मटेरुवाबीचमा रहेको दशगजामा बनाइएका घरहरु पनि डोजर लगाएर हटाइएको छ। १७९/२ पिलरसम्म लगभग १ किलोमिटर क्षेत्रमा बनाइएका ५० वटाजति घर भत्काइएको एसपी थापाले बताए। जसमा १५ वटा नेपाली नागरिकका घरहरु परेका छन्।
‘नेपाली नागरिकले फुस र टिनको प्रयोग गरेर टहरा बनाएका रहेछन्,’ थापा भन्छन्, ‘भारतीयले चैँ पक्की घर नै बनाएर दशगजा कब्जा गरेको पाइयो।’ दशगजा खाली गर्ने क्रममा भारतीय पक्षले गालीगलौज र दुव्र्यवहार गरेको नेपालतिरका स्थानीयको गुनासो छ। डोजर चल्न थालेपछि दशगजा कब्जा गरेर बसेकाहरु विरोधमा उत्रिएका थिए। त्यसक्रममा नेपालीमाथि हातपात गरेको गुनासो उनीहरुको छ।
‘दशगजा खाली गर्ने नाममा नेपालीमाथि भारतीय पक्षबाट अत्याचार भयो,’ एक स्थानीय भन्छन्, ‘दुर्व्यवहार र हातपात गर्न खोजियो।’ उनका अनुसार भारतीयलाई सहज व्यवहार गरिए पनि नेपालीप्रति भने आक्रामक व्यवहार देखाइयो। बिना जानकारी एक्कासि आएर घरटहरा भत्काइदिँदा आफूहरुको बिचल्ली भएको उनको गुनासो छ। डोजर चलाउँदा नेपाली पक्षको कुनै कुरा नसुनिएको उनले बताए।
अतिक्रमण गरेर बनाइएका संरचना हटाउँदै दशगजा खाली गर्न नेपालका सुरक्षा निकायले लामो समयदेखि पहल गरिरहेका थिए। तर, भारतीय पक्षले बेवास्ता गर्दा दशगजामा घर बनाएर बस्नेहरुको संख्या बढ्दै गएको थियो। अहिले आएर दशगजा खाली गर्ने कामको अगुवाई भारतीय पक्षले नै गरेको हो।
दशगजा कब्जा गर्नेमा भारतीय नै धेरै छन्। दशगजामा बनाइएका अवैध संरचनाको आडमा विभिन्न मालवस्तुको तस्करी, लागूऔषध एवं हतियार ओसारपसारलगायतका अवैध धन्दा हुँदै आएको थियो।
दशगजा खाली गर्न पहिल्यै सूचना दिएपनि अटेर गरेपछि घरहरु भत्काउन डोजर चलाउनु परेको सुरक्षा स्रोतको भनाइ छ। डोजर चल्न थालेपछि केहीले हतारहतार गर्दै घरमा रहेका सामानहरु सारेका थिए। केहीका सामान भने त्यहीँभित्र पुरिएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नेपाल र भारतका सुरक्षा निकाय मिलेर दशगजाका घरटहराहरु हटाउन थालेको जानकारी दिए। ‘दशगजाका घरटहरा भत्काउन थालिएको छ। कसैले पनि संरचना बनाएर दशगजा कब्जा गर्न पाउँदैन,’ उनले भने, ‘खाली गर्ने योजना अनुरुप काम अघि बढेको छ। अन्तर्राष्ट्रिय कानुनअनुसार दुई देशीय सिमानाको दशगजा अतिक्रमण गर्न मिल्दैन।’
सीमा क्षेत्रको हिसाबले अति संवेदनशील मानिने दशगजालाई दुवै देशका नागरिकले वासस्थानका रूपमा प्रयोग गरिरहेका थिए। घर र गोठ बनाउने, गाईबस्तु बाँध्ने तथा चराउने एवं दैनिक कामका लागि दशगजाको प्रयोग गर्ने क्रम बढ्दो थियो।
‘दशगजामा कुनै गतिविधि गर्न पाइँदैन। त्यहाँ अप्रिय घटना हुँदा कसले जिम्मा लिनेभन्ने कुरा पनि आउँछ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘लथालिंग अवस्थामा रहेको दशगजालाई खाली गरेर दशगजाकै रूपमा प्रयोग गरिनुपर्छ। त्यही भएकाले दुवै देशका सुरक्षा निकायको पहलमा अवैध संरचना हटाएर दशगजा खाली गर्न थालिएको हो।’
अवैध घरटहरा हटाएपछि जीर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत सम्भारका लागि पनि पहल गरिने प्रशासनले जनाएको छ। सीमा क्षेत्रको समस्या कूटनीतिक पहलबाटै समाधान गर्नु उत्तम हुने सुरक्षा अधिकारी बताउँछन्।
प्रजिअ यादवले दशगजालाई व्यक्तिले कब्जा गरेर निजी उपयोगमा ल्याउनु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए।
0 comment