काठमाडौं - मोरङ प्रहरीले गोदाम फुटाएर टेलिभिजन चोरी गर्ने गिरोहका २ जनालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहाल नेतृत्वको टोलीले टिभी चोरीमा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो।
चोरी गरेर लगेको २१ मध्ये १५ थान एलईडी टिभीसहित उनीहरू पक्राउ परेका हुन्। अन्य ६ थान टिभी बरामद हुन बाँकी छ। चोरीमा संलग्न १ जना फरार छन्।
गत चैत २८ गते बूढीगंगा–४ मा रहेको नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर प्रतिगोटा ४५ हजार पर्ने २१ थान टिभी राति चोरी गरिएको थियो।
‘चोरीमा संलग्नले मोरङ र सुनसरीका विभिन्न ठाउँमा पुर्याएर सस्तो मूल्यमा टिभी बिक्री गरेको पाइयो। विभिन्न व्यक्तिलाई बिक्री गरेको टिभी पनि बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल भन्छन्, ‘एउटा टिभीलाई २० देखि २५ हजार रूपैयाँसम्ममा बेचेको खुलेको छ। बिक्री हुन बाँकी रहेका केही सेट टिभी भने खाल्डो खनेर माटोमुनि गाडेको अवस्थामा फेला पर्यो।’
बिक्री हुन बाँकी रहेका टिभी किन्ने ग्राहकको खोजीमा निस्किएका बेला चोरीमा संलग्नहरू पक्राउ परेका हुन्। उनीहरूविरुद्ध प्रहरीले चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।
0 comment