काठमाडौं – एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।
एमाले केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु हुने एमाले प्रचारविभाग प्रमुख विष्णु रिजालले जानकारी दिनु भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालय बैठकले यसअघि नै तय गरिसकेको छ । उक्त केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुनेछ ।
केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुने श्रोतले जनाएको छ ।
यसै गरी भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ । साथै केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै रायमाझीलाइ अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको छ ।
पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराएको छ । बैठकमा यस विषयमा पनि छलफल हुने बताईएको छ ।
0 comment