काठमाडौं - अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र ओरालो लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन्।
प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अर्थतन्त्र ओरालो लागेको पनि होइन। अर्थतन्त्र उकालो छिटो चढ्नुपर्नेमा विस्तारै चढिरहेको छ। अहिले पनि आर्थिक वृद्धि पहिलेको भन्दा उकालो लागेको छैन। तर, अर्थतन्त्र रफ्तार गतिमा अघि नबढेको यथार्थ हो।'
राजस्व बढाउने लक्ष्य हासिल नगरेको यथार्थ उनले खुलाए। महतले भने, ‘हामीले चाहेजस्तो आर्थिक वृद्धि भएको छैन। राजस्व बढाउने लक्ष्य हासिल नगरेको पनि यथार्थ हो। अहिले पनि व्यापार घाटा कायम छ। ऋणको दायित्व बढ्दैछ,’ उनले प्रस्ट्याए।
उनले विदेशी सहयोग ऋणको पनि सीमितता रहेको बताए। उनले थपे, ‘अहिले मौद्रिक नीति कडाइ गर्दा व्याजदर बढ्यो। ऋण लिएर लगानी गरेकाको दायित्व बढ्यो। त्यसबाट बजारमा गतिविधि कम भइरहेको छ। अर्कोतर्फ सरकारी खर्च राम्रोसँग गर्न सकेनौं।’
अर्थमन्त्री महतले मौद्रिक नीति खुकुलो बनाइने बताए। ‘मौद्रिक नीति खुकुलो बनाउने र यसले गर्दा व्याजदर कम हुन्छ। जसले उद्योग व्यवसायमा ऋण लिन चाहन्छन्। उनीहरूलाई राहत हुन्छ,' उनले भने।
अन्तिम समयमा खर्च गर्ने र ९ महिना सुत्ने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ। ‘अब पहिलो दिनदेखि नै खर्च गर्नुपर्छ। यो भयो भने पुँजीगत खर्च बढ्छ। विगतमा वास्तविक स्रोत नै सुनिश्चित नभएर पूरा लागतको ठेक्का अघि बढायौं। त्यसैले गर्दा आयोजना कागजमा छ। तर, त्यो काम अघि बढिरहेको छैन। त्यस्ता आयोजना हजारौं छन्। विगतमा स्रोतनै नभएर ठेक्का लगाइएको देखियो।’
स्रोत सुनिश्चित गरेर बजेट विनियोजन गरिएको उनले बताए। महतले भने, ‘मौद्रिक नीतिमार्फत् व्याज सहज बनाउनुपर्छ। ऋण तिर्न कठिनाई भएकालाई समय दिनुपर्छ। र, पुँजीगत खर्चलाई वृद्धि गर्नुपर्छ। यसरी अर्थतन्त्रमा देखिएको दबाब र शिथिलता समाप्त हुन्छ।’ जथाभावी वैदेशीक ऋण नलिने घोषणा गर्दै उनले भने, 'यसले बोझ थप्छ। विदेशी सहयोग लिने विषयमा अत्यन्तै चनाखो हुन्छौं। सहयोग त चाहिएको छ। तर प्राथमिकता हेरेरमात्रै अघि बढ्छौं।'
0 comment