काठमाडौं - काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौंको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। हिजो पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज पक्राउ परेका खाँण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो। अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ। 

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यसअघि हिजो मंगलबार काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। 

त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ। सचिव पाण्डेलाई हालः निलम्बन गरिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई धन्यवाद दिएका छन्।

खाँड पक्राउ पर्ने वित्तिकै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै नेपाल प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई बधाइ दिएका हुन्।

उनले लेखेका छन्, 'धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्‍यू। यो शिलशिला नरोकियोस् कुनै हालतमा नकरोकियोस्।'

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी आज बिहान पक्राउ परेका हुन्। यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।  

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ ।