डोलेश्वर महादेवको संक्षिप्त परिचय
भक्तपुर जिल्लाको सिपाडोल गा.बि.स. (हाल सूर्यविनायक नगरपालिका वडा नं. ८)मा अवस्थित श्री डोलेश्वर महादेव शिवलिङ्गको उत्पत्ति द्वापारयुगको अन्त र कलियुगको प्रारम्भ कालमा भएको हो। नेपाल मण्डलका लिच्छवी तथा मल्ल राजाहरुले यस डोलेश्वर महादेवको प्यागोडा शैलीको तीन तले मन्दिर बनाएका थिए । बि.सं. १९९० को महाभुकम्पबाट क्षतिग्रस्त भएको सो मन्दिर आजभन्दा ७० बर्ष अघि मात्र हालको देखिने गुम्बज शैलीको निर्माण गरिएको थियो। भक्तपुर गोलमढी निवासी श्री बिष्णुदास श्रेष्ठले श्री डोलेश्वर महादेवको मन्दिर जिर्णोद्धार गरी हालको अवस्थामा निर्माण गर्नुभएको हो।
डोलेश्वर मन्दिरको हालको अवस्था
डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग राँगोको शिर झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ । सुन्दर शिवलिङ्गको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ । मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन् । मन्दिरको चारैतिर द्वारहरू रहेका छन् र उत्तरतर्फको द्वार अगाडि जल बगिरहने हुनाले सधैँ बन्द रहने गरेको छ । ९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको हो जसको शीर्ष भागमा पित्तलको गजुर र पहेँलो कपडाको पताका फहराई रहेको देख्न सकिन्छ । मन्दिरको छाना वरिपरिको पहेँलो चँदुवाको तल हरियो रङको फेर रहेको छ । मन्दिरको छानाको चार कुनामा त्रिशूल रहेका छन् भने मन्दिरको दायाँ ठूलो घन्टा र बायाँपट्टि सानो घन्टा रहेका छन् । मन्दिरको दाहिनेतर्फ अर्थात् दक्षिणतर्फ १२० धार्नीको पत्थरको त्रिशूल गाडिएको छ जसमा ८४९ नेपाल संवत् कुँदिएको छ । मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको नन्दी स्थापित छ । मन्दिरको दक्षिणपूर्व कुनो अर्थात् शिलाको त्रिशूल अगाडि दीप प्रज्ज्वलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो मन्दिर छ ।
मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ । अरू ढोका विशेष दिनमा मात्रै खोलिन्छ भने पश्चिमको मूलढोका सधैँ खोलिन्छ । मूल ढोकाको रूपमा प्रयोग भए पनि चारै ढोकाको चौकोसको आकार भने लगभग एकैनासको छ । वर्षको ३ पटक वैशाखरजेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफैंले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ । अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ । उत्तर, पूर्व र दक्षिणतर्फ अग्लाअग्ला हरिया डाँडाहरूले घेरिएको र बीचमा रमणीय थली परेको जमिनमा अवस्थित डोलेश्वर महादेवको मन्दिरको वरिपरि गोदावरीको सङ्गमरमरले सजाइएको छ भने वरिपरिको प्राङ्गण परिसरमा ठाडो पारेर इँटा बिछ्याइएको छ । मन्दिरको मूलद्वारसँगै भित्तामा एक शिलापत्र टाँसिएको छ जसमा केदारनाथका पीठाधीश्वर जगद्गुरु श्री १००८ भीमाशंकर लिङ्ग शिवाचार्य महास्वामीज्यूद्वारा यस शैव मन्दिरलाई श्री केदारनाथजीको शिरोभागका रूपमा प्रमाणित एवं घोषणा गर्दै यस शिलापत्रलाई अनावरण गरिएको दस्तावेज उल्लेख छ ।
डोलेश्वर महादेवको इतिहास
भक्तपुर जिल्लाको सिपाडोल गा.बि.स. मा अवस्थित श्री डोलेश्वर महादेव शिवलिङ्गको उत्पत्ति द्वापारयुगको अन्त र कलियुगको प्रारम्भ कालमा भएको हो। नेपाल मण्डलका लिच्छवी तथा मल्ल राजाहरुले यस डोलेश्वर महादेवको प्यागोडा शैलीको तीन तले मन्दिर बनाएका थिए तर कहिले र कसको शसानकालमा बन्यो भन्नेकुरा अझै प्रष्ट छैन। भक्तपुरका राजा भुपतिन्द्र मल्लको बि.सं. १६२९ को शिलालेखमा यस डोलेश्वर मन्दिरको जिर्णोद्धार गरी सुनको कलश चढाएको उल्लेख भएबाट श्री डोलेश्वर मन्दिर कम्तिमा त्यसभन्दा ३-४ शताब्दी अघि नै निर्माण भएको अनुमान गर्न सकिन्छ। बि.सं. १९९० को महाभुकम्पबाट क्षतिग्रस्त भएको सो मन्दिर आजभन्दा ७० बर्ष अघि मात्र हालको देखिने गुम्बज शैलीको निर्माण गरिएको थियो। भक्तपुर गोलमढी निवासी श्री बिष्णुदास श्रेष्ठले श्री डोलेश्वर महादेवको मन्दिर जिर्णोद्धार गरी हालको अवस्थामा निर्माण गर्नुभएको हो।
डोलेश्वर महादेवसँग जोडिएको किंबदन्ति
महाभारत कालमा पाण्डव परिवारले राज्य ब्यवस्था अर्जुनपुत्र अभिमन्युका छोरा परीक्षित महाराजलाई जिम्मा लगाई स्वर्गारोहणको लागि उत्तरापन्थको यात्रा गर्दै थिए। यात्राकै क्रममा आशुतोष भगवान श्री केदारनाथको दर्शन गर्ने ईच्छा गर्दा, ती स्वजन हत्या गरी आएका पापी पाण्डवहरुलाई दर्शन नदिने निर्णय गरी श्री केदारनाथजी राँगोको रुप धारण गरी जङ्गल बिहारमा रहनुभएको थियो। पाण्डवहरुले ध्यान दृष्तिले बिचार गर्दा भगवान श्री केदारनाथजी राँगो रुप धारण गरी जङ्गल बिचरण गर्दै हिँडेको थाहा पाएपछि सोही रुपको दर्शन गर्छौं भनी पाण्डवहरु पछि लागेर पुच्छर समाएर तान्न खोज्दा भगवानले आफ्नो शीरोभाग लुकाई पृथ्वीतर्फ धस्रिंदै आफ्नो शरीरलाई दुई टुक्रा बनाई अलप हुनुभयो। यसैक्रममा धड सोही ठाउँमा रहेको तथा पुच्छर समातेका भिमसेन हातमा रहेको पुच्छर समेत अन्य ठाउँमा पछारिन पुगेको देखेपछि पाण्डवहरु भयभित भएर भगवान शिवको आरधना गर्न थाले। यसैबीच ‘तिमीहरुले पाप गर्यौ, साँच्चै मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न आऊ’ भनी आकाशबाणी भएपछि पाण्डवहरुले पूर्वको यात्रा तय गरे भन्ने कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट उल्लेख भएको छ।
यसै सन्दर्भमा श्री डोलेश्वर महादेवको दर्शन गर्न महाभारत कालिन पाण्डवहरु आएका थिए भन्ने कुरा पौखेलबाट पूर्वतर्फ रहेको ‘पाण्डव ढुङ्गा’ले आजसम्म लोक मान्यता पाएको कुराले प्रमाणित भएको छ। यस सम्बन्धमा लोक बोलीका अनेक कथाहरु पनि प्रचलनमा छन्। तर यस डोलेश्वर महादेवको इतिहास बीचमा टुटेको हुँदा यस सन्दर्भमा पछि खोज, उत्खनन तथा अनुसन्धानबाट उजागर हुने नै छ।
डोलेश्वर क्षेत्र
सिपाडोल–६ मा अवस्थित यस मन्दिर डोल क्षेत्रमा अवस्थित छ। मन्दिर नजिकै बग्ने बिमला खोलाको महिमा परापूर्वकालदेखि नै प्रख्यात छ। त्यसैले यस मन्दिरलाई विमलेश्वर पनि भनिन्छ। मन्दिर परिसरको उत्तरमाथि सिपाडोलको माली गाउँ र पूर्वतर्फ चित्तपोल, दक्षिणतर्फ गुण्डुगाउँ र पश्चिमतिर सूर्यविनायक जङ्गल पर्दछ । डोलेश्वर क्षेत्रमा पर्ने पवित्र तीर्थस्थलहरुमा सिपाडोल–१ मा अवस्थित श्री सूर्यविनायक गणेशस्थान, भक्तपुरको सिपाडोल, नङ्खेल तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने आशापुरी महादेवस्थान, भक्तपुरकै चितपोलमा नवनिर्मित एसियाकै अग्लो महादेवको मूर्ती छ। साथै यस भक्तपुर क्षेत्रमा मात्रै पाशुपत क्षेत्रका ६४ ज्योतिर्लिङ्ग मध्येका ९ वटा ज्योतिर्लिङ्ग रहेका छन्। नगरकोटमा श्री रत्नचुडेश्वर सिद्धलिङ्ग, सुडालमा श्री बागीश्वर सिद्धलिङ्ग, चाँगुनारायणमा श्री किलेश्वर स्वयम्भूलिङ्ग, हनुमानघाटमा श्री बालमिलेश्वर सिद्धलिङ्ग, नासमनामा श्री मङ्गलेश्वर सिद्धलिङ्ग, सिपाडोलको श्री डोलेश्वर स्वयम्भूलिङ्ग, गुण्डुको श्री अनन्तलिङ्गेश्वर स्वयम्भूलिङ्ग, तरखाल गुण्डुकै श्री विश्वरुपेश्वर स्वयम्भूलिङ्ग तथा सिरुटारको श्री सोमलिङ्गेश्वर स्वयम्भूलिङ्ग भक्तपुर जिल्लामा अवस्थित ज्योतिर्लिंङ्गहरु हुन्।doleshwor_babs
पहिले रहेको श्री डोलेश्वर महादेवको ९०० रोपनी जङ्गल नेपालका श्री ३ महाराजाका समयमा बक्सिस पाई उनका नजिकका व्यक्तिका नाउँमा दर्ता हुँदा २०६६ सालसम्ममा मन्दिरको स्वामित्वमा जम्मा १ रोपनी १२ आना जमिन मात्र रहेको थियो। हाल कुमार उप्रेतीबाट १५ आना तथा पदमबहादुर पौडेलबाट १५ रोपनी जग्गा प्राप्त भएको छ। यसरी प्राप्त भएको जग्गामा श्री डोलेश्वर महादेवको मन्दिरलाई नयाँ गुरुयोजना अनुसार पुरानै शैलीमा पुनर्निर्माण गर्न डोलेश्वर संरक्षण तथा विकास समिती कार्यरत छ। – हिन्दू गतिविधि युनिट
0 comment