काठमाडौं - भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ,इन्जिनियर संतोष कुमार दास,लेखापाल नेत्रप्रसाद मरासिनीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत् नवलपरासी देवचुली र दुम्किवासमा ट्युबवेलको काम भएकोमा हालसम्म एमएस फिटिङ आउटलेट को निर्माण नै नभएता पनि कार्यालयले भुक्तानी गरिसकेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा सो कार्यमा झुट्टा विल भरपाई बनाइ सार्वजनिक सम्पत्तिको हानीनोक्सानी समेत गरेको पाइएकाले उनीहरूविरूद्ध सजायमागसहित आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ।
कार्यालय प्रमुख श्रेष्ठले पम्पहाउस स्टोरेज टंकी र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा सम्झौताअनुसारको काम नगरी नभएको कामलाई भए गरेको भनी झुटो विल बनाइ ९ लाख ३२ हजार ५४८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
यस्तै कार्यालय प्रमुख श्रेष्ठले ठेक्काको म्याद थप तथा बीचैमा काम छोड्ने ठेकेदारलाई नियमानुसारको कारबाही भुक्तानीसमेत दिइ ठेक्काको काम पूरा नहुनेगरी बीचैमा काम अलपत्र पारी ५३ लाख ७५ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
भ्रष्टाचारजन्य कसूर पुष्टि हुन आएकाले श्रेष्ठलाई ५३ हजार ७५ हजार २०० रुपैयाँ विगोसहित सजायको माग गरिएको छ। यस्तै,भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर दासले उक्त निर्माण कार्यमा नापजाँच गरी तयार गरेको कागजातमा ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा बढि काम गरेको देखाइ झुट्टा विल बनाइ ९ लाख ३२ हजार ५४८ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ।
दासले ठेक्काको उद्देश्य पूरा नहुने गरी बीचमै काम अलपत्र पारी लगानीको प्रतिफल शून्य हुनेगरी भए गरेको कामबाट ५३ लाख ७५ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले सोही रकमबमोजिम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो।
लेखापाल मरासिनीले ठेक्का सम्झौताको बैधता र अस्तित्व नै समाप्त हुनेगरी भए गरेको कामबाट सरकारलाई ५३ लाख ७५ हजार २०० रुपैयाँ हानीनोक्सानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
यस्तै ठेकेदार गुरूङ र भट्टराईले निर्माण कार्यको ठेक्कामा फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा नभएको कामलाई बढि काम गरेको देखाइ झुट्टा विल बनाउन लगाइ ६३ लाख ७ हजार ७४९ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले दुवैमाथि सोही मूल्य बराबरको विगोसहित सजायको माग गरिएको छ।
0 comment