काठमाडौं - कोशी प्रदेश प्रहरीले त्रिवर्षिय तुलनात्मक कार्य विवरण सार्वजनिक गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज अपरान्ह पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी कोशी प्रहरीका सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीद्वारा सम्पादन गरिएका त्रिवर्षिय तुलनात्मक कार्य विवरणको प्रस्तुतिकरण गर्नु भएको थियो ।

विवरण अनतरगत फरार अपराधी पक्राउ, भन्सार चोरी निकासी नियन्त्रण, नदिजन्य पदार्थको अवैध दोहन कारवाही, अबैध काठ चोरी निकासी नियन्त्रण, हात हतियार पक्राउ, गाँजा फडानी, लागु पदार्थ नियन्त्रण, उत्कृष्ट अनुसन्धान तथा प्रहरी कार्य, भन्सार चोरी निकासी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सचेतनामुलक कार्यक्रम संचालन सम्वन्धिका बिवरणहरु प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्दै कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध गतिबिधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी निस्तेज, लागुऔषध ओसार पसार नियन्त्रणमा कडाई तथा संचालनमा रहेका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताउनु भयो । साथै उहाँले कार्यक्रममा संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको बारेमा समेत प्रस्ट पार्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा गण दुहबी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ समेतका प्रहरी प्रमुखहरु साथै प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।