काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा मुख्यरुपमा काम गरिरहेको बताएका छन् ।
काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुगेका प्रचण्डले आफ्नो नेतृत्वमा सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा विशेषरुपले काम गरिरहेको बताउँदै सुशासन कायम गर्नका लागि नयाँ लडाईंमा रहेको बताए । उनले यो लडाईंमा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने बताए ।
सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत प्रचण्डले उद्घोष गरे । महाभरत गाउँपालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्धघाटन गर्दै प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताए ।
'हामी अहिले विद्युत उत्पादन गरेर भारतलाई बिक्री गरिरहेका छौं, अब विद्युत उत्पादन वृद्धि गरेर छिटै अन्य मुलुकमा समेत बिक्राका लागि पहल गर्नेछौं,' उनले भने ।
काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको एक सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने बताए। हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि दाहालले बताए ।
विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासमा काम अगाडि बढाएको बताउँदै त्यही अनुरुप महाभारत गाउँपालिकाको पनि पहिलाका र अहिलेको तुलनामा फरक पाएको उनले बताए । अबको दुई वर्षमा कुनैपनि घर विद्युतविहीन नहुने उनको भनाइ छ।
0 comment