काठमाडौं - विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् ।
सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् । जन्मिँदा तौल ३.४ किलोग्राम थियो ।
स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । जुम्ल्याहा छोरी जन्माएकी महिलाले प्रष्टसँग आफ्नो घर–ठेगाना बताउन सकिरहेकी छैनन् । परिवारका सदस्य र आफन्त पनि अस्पतालको सम्पर्कमा आइपुगेका छैनन् । जसका कारण घर–ठेगाना, परिवारका सदस्य, आफन्तदेखि लिएर सुत्केरीको अन्य पृष्ठभूमि यकिन गर्न अस्पताललाई मुस्किल परिरहेको छ ।
उनी आफू सिरहाको लाहानमा डेरा गरेर बस्ने र श्रीमान आनन्द भगत चौधरीले त्यहीँ मिठाई बनाउने काम गर्ने गरेको बताउँछिन् । उनले आफू बिरामी परेपछि छिमेकी राधादेवी मण्डलले अस्पतालसम्म ल्याइदिएको र छोरा बिरामी परेकाले उनी पनि फर्किएर गएको बताइन् । ‘मलाई यस्तो भएको सुनेपछि अर्काको मोटरसाइकल मागेर श्रीमान आउँदै हुनुहुन्थ्यो । तर, दुर्घटनामा परेर राजविराज अस्पतालमा भर्ना हुनुभयो भन्ने सुनें,’उनले भनिन्, ‘उहाँको खुट्टा भाँचियो अरे । अरु आफन्तले हामीलाई सहयोग गर्दैनन् ।’
उनले यसअघिका आफ्ना २ सन्तान छोरी रहेको बताइन् । ‘एउटी १० वर्ष जति कि छ । उसले केही सहयोग गर्नसक्ने कुरै भएन,’ उनी भन्छिन्, ‘अर्कीको बिहे भइसक्यो । उसको पनि नानी हुँदैछ ।’
चिकित्सकको निगरानीमा जुम्ल्याहा सन्तानसहित उनलाई प्रसूति वार्डमा राखेर अस्पतालले नै उपचार गरिरहेको छ । अरु बिरामीका कुरुवाले उनको स्याहार गरिदिन्छन् । जुम्ल्याहालाई दूध खुवाउन मद्धत गर्छन् । सुत्केरीको आर्थिक अवस्था अति नै कमजोर देखिन्छ ।
सुत्केरी व्यथाले च्यापेर अवस्था अन्तिम बनिसकेपछि अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियामार्फत् प्रसूति गराएर शरीर जोडिएका जुम्ल्याहा बच्चा बाहिर निकालिएको हो । अस्पतालमा अहिले सुत्केरी र उनीबाट जन्मिएका जुम्ल्याहा सन्तान मात्रै छन् । शल्यक्रिया गरेको ५ दिन भइसक्दा पनि परिवारका सदस्य र आफन्त सम्पर्कमा आएका छैनन्।
अस्पतालले आफ्नै खर्चबाट सुत्केरी र जुम्ल्याहा शिशुको हेरचाह, स्याहार एवं उपचार गरिरहेको छ। अस्पतालका अनुसार सुत्केरीका बारेमा थाहा पाउने कोहीपनि सम्पर्कमा नआएका कारण आगामी दिनमा थप समस्या हुने देखिन्छ ।
गर्भवती अवस्थाकी उनलाई यही वैशाख २१ गते बिहीबार बिहान ११ बजेतिर अस्पतालमा भर्ना गरिएको हो । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको नेतृत्वमा डा. मधुमीता राभा, डा. प्रकृति आचार्य र एनेस्थेसिया डा. राजकुमार यादवसहितको टोलीले बिहीबार १२:३० बजेतिर उनको शल्यक्रिया गरिदिएको हो ।
कोसी अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुखसमेत रहेकी डा. देवका अनुसार भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा शरीर जोडिएका बच्चा रहेको पत्ता लाग्यो । ‘कोसी आउनुअघि अर्कै अस्पतालमा पनि भिडियो एक्स–रे गर्दा जोडिएका बच्चा रहेको पत्ता लागेछ । त्यसपछि कोसी रेफर गरेर पठाइएको पाइयो,’ उनले भनिन्, ‘बिरामीको अवस्था अन्तिम बनिसकेको थियो । तत्काल शल्यक्रिया गरेर जीवितै जुम्ल्याहालाई बाहिर निकालियो ।’
‘शरीरको भाग जोडिएका जुम्ल्याहा जन्मिनुलाई नयाँ र अनौठो घटना मानिन्छ । यथार्थमा यस्ता घटना एकदमै कम हुन्छन्,’ उनी भन्छिन्, ‘चिकित्सकीय क्षेत्रका लागि भने नौलो होइन । अध्ययनकै शिलशीलामा यस्ता ‘कम्प्लिकेसन’का बारेमा पढ्नुपर्ने हुन्छ ।’ त्यही अनुभवका आधारमा जटिल शल्यक्रियामार्फत् शरीर जोडिएका जुम्ल्याहालाई बाहिर निकाल्न सफल भएको चिकित्सक बताउँछन् । यस्तो बच्चा जन्माउनबाट रोक्न आजकाल धेरै प्रविधि छन् । ‘गर्भ बसेपछि चिकित्सकको सल्लाह अनुसार समय–समयमा भिडियो एक्स–रे गराउनुपर्छ । त्यसले पेटभित्रको बच्चाको अवस्था थाहा हुन्छ,’ डा. देवले भनिन्, ‘भिडियो एक्स–रेमा बच्चा अस्वभाविक देखिए तत्काल उपचार सुरु गरिन्छ । गर्भवतीलाई जोखिम हुने भयो भने शल्यक्रिया गरेर निकालिन्छ ।’
उनका अनुसार शरीर जोडिएको जुम्ल्याहा जन्मिनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्वीन्स’ भनिन्छ । ‘सामान्यतया एउटा भ्रुणले एउटा बच्चा जन्मिन्छ । त्यसरी नै गर्भमा भ्रुणको विकास भएको हुन्छ,’ उनी भन्छिन्, ‘तर, एउटा भ्रुण आधाआधा भइदियो भने दुईवटा बच्चा जन्मिने सम्भावना हुन्छ । छुट्टाछुट्टै जुम्ल्याहा वा शरीर जोडिएका पनि जन्मिन सक्छन् ।’ राम्रोसँग विकास नभइकन भ्रुण विभाजित भइदियो भने जुम्ल्याहा सन्तान जन्मिने डा. देवले बताइन् ।
तर, शरीर जोडिने जुम्ल्याहाको जन्मलाई भने दुर्लभ मानिन्छ । यस्तो घटना ५० देखि ६० हजारमध्ये १ जनामा हुन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्रै हुन्छ । उनका अनुसार शल्यक्रिया गरेर अलग गराउन सकिएन भने प्राय १ वर्षभित्रमा यस्ता बच्चाको मृत्यु हुने हुन्छ । ‘जुम्ल्याहा जन्मिँदा शरीर जोडिने सम्भावना प्राय छोरीमा बढी हुन्छ । अहिले जन्मिएका पनि छोरी नै हुन्,’ डा. देवले भनिन्, ‘शरीरको भित्री अंगहरु जोडिएका रहेनछन् भने शल्यक्रिया गरेर अलग गराउन सकिन्छ । नत्र बचाउन मुस्किल पर्छ ।’
कोसी अस्पतालमा भने यस्तो शल्यक्रिया सम्भव नहुने जानकारी उनले दिइन् । उनका अनुसार शल्यक्रियाअघि वृहत परीक्षण गरेर शरीरको भित्री अंगको अवस्थाका बारेमा जानकारी लिइन्छ, सबै कुरा पत्ता लगाइन्छ । ‘आन्द्रा, मुटु, कलेजोलगायत शरीरका भित्री अंगहरु अलगअलग भएमा मात्रै जोडिएका जुम्ल्याहालाई शल्यक्रियामार्फत छुटाउन सकिन्छ । तर, कुनैको भित्री अंगहरु एउटै पनि भइदिन्छन्,’ डा. देवले भनिन्, ‘अंगहरु जोडिएका छन् कि अलगअलग छन् भन्ने कुरा वृहत परीक्षणपछि मात्रै थाहा हुन्छ । बिना परीक्षण केही भन्नै सकिँदैन ।’
सुत्केरीको आर्थिक अवस्था कमजोरजस्तो देखिएकाले दाताको सहयोग बिना शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या हुनसक्ने डा. देव बताउँछिन् । ‘उपचार एवं हेरचाहमा सहयोग गर्न ओरेक नेपाललगायतका संघ संस्थासँग समन्वय गरिरहेका छौँ । मद्धत चाहियो भनेका छौँ,’ उनले भनिन्, ‘अस्पतालले डिस्चार्ज दिइसकेपछि अरु सहयोग गर्ने आश्वासन आएको छ । यस्तो बेला सुत्केरी र सन्तानलाई निक्कै हेरचाह र स्याहारको आवश्यक पर्छ ।’
डा. देवका अनुसार शरीर जोडिएका जुम्ल्याहाको स्वास्थ्य अवस्था सामान्य भए पनि आमाको भने नाजुक छ । सुत्केरीलाई उच्च रक्तचापको समस्यासँगै शरीरमा प्रोटिन र रगतको कमी रहेको उनले बताइन् । तर, उपचार जारी राखिएका कारण सुत्केरीको अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ ।
‘अहिलेसम्म जुम्ल्याहाको स्वास्थ्य सामान्य छ । खानेकुरा खाइरहेका छन्,’ डा. देव भन्छिन्,‘त्यसले शरीरको भित्री अंग अलगअलग छन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अहिले प्रारम्भिक उपचार गर्ने र थप उपचारका लागि सर्जनको जिम्मा लगाउने तयारी छ ।’
तर, आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा रेखदेखमा समस्या भइरहेको उनले बताइन् ।
0 comment