काठमाडौं - सरकारले बन्द रहेका चीनका नाका खोल्न ताकेता गरेको छ। गृह मन्त्रालयले नेपालस्थित चिनियाँ राजदूतमार्फत् बन्द रहेका केही नाखा खोल्न ताकेता गरेको हो।

सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजदूत छन् सोङलाई बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न आग्रह गरेका छन्। 

उनले तातोपानी, रसुवा तथा हिल्सा नाका सञ्चालमा आएकोमा खुसी व्यक्त गरेका थिए।

राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाएका थिए। सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइ छ।

राजदूत सोङले नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिएका थिए। उनले नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।