काठमाडौं - बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ। 

यार्सागुम्बा संकलनका लागि पार्थी हिमाल गएको बेला हिमपहिरोमा परेर बेपत्ता भएकी सुर्मा गाउँपालिका-१ वेवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहराको शव आज ७ दिनपछि भेटिएको हो। छोरासहित यार्सागुम्बा संकलन गर्न गएकी बोहरा घर फर्किने क्रममा वैशाख १९ गते मंगलबारदेखि हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन्।

बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी कार्य गरेकोमा आज सोमबार बिहान मात्रै शव भेटिएको हो। बेपत्ता भएको ठाउँबाट करिब एक किलोमिटर तल पार्थी भिरमा आज शव भेटिएको सुर्मा गाउँपालिका-१ का वडा अध्यक्ष दिनेश बोहोराले जानकारी दिए।

अध्यक्ष बोहोराका अनुसार ती महिलाले लगाएको सुनको गहना समेत हराएको छ। अहिले प्रहरी मुचुल्कापछि शवलाई घर ल्याएर दाहसंस्कारको तयारी भएको छ।