काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौंको शंखमूलमा बस्दै आएका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतीदेवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार नै घर भई ललितपुरको लगनखेलमा बस्दै आएका ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबुमा बस्दै आएका ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकीमा बस्दै आएका ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब साँढे तीन महिनाको अनुसन्धानबाट भारतीय नागरिकले नक्कली कागजात पेस गरी नागरिकता लिएको पत्ता लगाएको हो ।

नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरिएको र नागरिकता दिने प्रशासन माथी पनि अनुसन्धान हुने उक्त काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताउनुभयो ।

उनीहरूले नेपालका सिरहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

नेपाली नागरिकता प्राप्त गरेपछि उनीहरूले यहाँका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार, व्यवसाय समेत गरेर बसेको अनुसन्धानबाट खुलेको छ । भारतीयले वंशजका आधारमा नै नेपाली नागरिकता लिएको प्रहरीले बताएको छ ।