काठमाडौं - बिराटनगर महानगरपालिका-१५ बाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भ्यानसहित ३ जना मानिस पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भ्यान चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन् । 

हिजो दिउँसो साँढे ३ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट परिचालन भएको प्रहरी बरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा लुकाई छिपाई राखेको अवस्थामा र भ्यानमा सवार रहेका उनिहरुको शरिर खानतलासी गर्ने क्रममा गरगहना भेटिएको हो ।

प्रहरीले सुन चाँदीबाट बनेका बिभिन्न प्रकारका गरगहनाहरु, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र भारतीय ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बरामद गरेको छ । 

बरामद गरिएका गरगहना, नगद र इको भ्यान समेत गरी करिव ९० लाख मुल्य बराबरको सामाग्रीहरु आवश्‍यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने थप अनुसन्धान भईरहेको छ ।