काठमाडौं - दार्चुलाको हिमपहिरोमा परेर मृत्यु भएका ३ जनाको शव भारतको बाटो भएर शुक्रबार साँझ जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ। 

दुर्घटना भएको चौथो दिन मृतकको शव दार्चुलाको सदरमुकाम खलंगा ल्याइपुर्‍याइएको हो। 

बिहीबार दिउँसो ३ बजे ब्यास गाउँपालिकाको भोलिनबाट हिँडे पनि बाटो अवरुद्ध हुँदा बिहीबार शव नेपाल ल्याउन सकिएको थिएन। भारतको निजङ भन्ने ठाउँमा पहिरो आउँदा बाटो अवरुद्ध भएको हो। दार्चुलाको ब्यास गाउँपालिका—१ भोलिन वनमा यार्सा टिप्न गएकाहरू हिम पहिरोमा परी १२ जना पुरिएका थिए। ७ जनाको सोही दिन सकुशल उदार गरिएको थियो। 

दोस्रो दिन बिहान उद्धारकार्यमा गएकाले तीन जनाको शव फेला पारे। २ जना अझै बेपत्ता छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ। मृत फेला परेका ३ जनामा २ जना दुहु गाउँपालिकाकै आमा छोरा थिए। 

गत चैत्रमा एसईई परीक्षा दिएका धारीका १८ वर्षीय प्रवीण कुँवर परीक्षा सकिएपछि आमा कमलासँग यार्सा टिप्न पुगेका थिए।