काठमाडौं – सरकारबारे निर्णय लिनु अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि भेट घाट गरेका  हुन । 

लामिछनेले चितवन–२ बाट सांसदमा पुन निर्वाचित भएपछि आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि भेटघाट गरेका छन् । 
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र सरकारबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन ः सांसदमा निर्वाचन भएकोमा बधाईसमेत दिएका छन् ।

सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाइएको छ ।संसदीय दलको नेता चयन र राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयन हुने बताइएको छ । रवि लामिछानेको सांसद पद गुमेपछि उपसभापति डोलप्रसाद अर्याललाई संसदीय दलको नेता बनाइएको थियो । लामिछाने पुन निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।

चितवनबाटै लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको वा सरकारले हटाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । ‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ । न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो ।’ उनले भनेका छन् ‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो ।’