काठमाडौं - लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।
२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो ।
सामुदायिक वन समूहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० किलो बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी अनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभर जस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ ।
लामो समयदेखि डढेलोले कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए । विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए ।
दुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो ।
डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यसअघि रोपिएका विरुवा खुल्ला चरिचरन भएकाले चौरीले खाने भएकाले ड्रोनबाट बीउ छर्न लागिएको स्थानीय फुर्पु तामाङले बताए ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए ।
अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । अघि पुनः स्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबार समेत गरिएको छ ।
ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनः स्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । जलेर कालो भएको वनमा पुनः हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउँछन् ।


0 comment