काठमाडौं - लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएको दाबी गर्ने एक समूहले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेको छ। उनीहरु बन्दोबस्तीका सामानसहित आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

संघर्ष समितिले सरकारले यसअघि लघुवित्त पीडितका एक समूहसँग गरेको सहमति कार्यान्वयन नभएको र न्यायका मागहरू अझै बेवास्ता गरिएको आरोप लगाउँदै बाध्य भएर आमरण अनशनमा बस्नुपरेको जनाएको छ।

यसअघि सरकारसँगको वार्तापछि एक समूहले आन्दोलन स्थगित गरेको भए पनि अर्को समूहले सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन सुरु गरेको हो। संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिएको छ।

समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न नागरिक, किसान तथा मजदुरहरू लघुवित्त तथा वित्तीय संस्थाहरूबाट चर्को ब्याजदर, धितो लिलामी र गैरकानुनी असुलीको मारमा पर्दै आएका छन्। ती समस्याको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनीहरूको माग छ।