काठमाडौं - बारा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्  । 

यादव ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् । एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ८२९ मत पाएका छन् । 

बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानत जफत भएको छ। उपनिर्वाचन भएको तनहुँ १ र चितवन २ मा ऐतिहासिक जित हात पारेको रास्वपाका उम्मेदवारको बारा २ मा भने जमानत जफत भएको छ । बारा २ मा बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार रमेश खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। 

बारा २ मा दलका १० र स्वतन्त्र २४ गरी कूल ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। ती मध्ये तीन जना उम्मेदवारले मात्र १० प्रतिशत मत कटाएका छन्। बारा २ मा विजयी भएका सत्तागठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहा र नेकपा एमालेका पुरूषोत्तम पौडेलले १० प्रतिशत मत कटाएका हुन्।

जमानत जफत हुनेहरुमा रास्वपाका रमेश खरेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीका अरूणकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव ,नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारसँगै २४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।