काठमाडौं - बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक आगामी मे ६ तारिखमा हुने भएको छ । 

सात दशकपछि लण्डनस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुन लागेको राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । बेलायतको राज्याभिषेक समारोह विगत नौ सय वर्षदेखि वेस्टमिनिष्टर एबेमा हुँदै आएका छन् । समारोह तीन दिनसम्म मनाइने छ । 

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउँनेछिन्। राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएका थिए। विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा छ । 

वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजप्रासादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा छोटो हुनेछ । 

करिब तीन घण्टा चलेको महारानी एलिजावेथको राज्याभिषेक समारोहमा १२९ राष्ट्रका ८ हजार २५१ प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चार्ल्सको औपचारिक तस्बिर र निम्तापत्र पनि सार्वजनिक गरेको छ । 

ब्रिटिस बोडकास्टिङ कर्पोरेशन (बिबिसी)लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह हेर्न संसारभरका देशबाट राजनेता, राष्ट तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् । 

विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे ८ मा बेलायतमा सार्वजनिक बिदा दिईनेछ ।