काठमाडौं - फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। 

उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजीनामाको घोषणा गरे पनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छन्। 

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ, नेसनल कोलिशन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको थियो ।

मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनुभन्दा पहिले नयाँ सरकार गठनमा आफ्नो पार्टीले नेतृत्व गर्ने बताउँदै आफुले बिहीबार प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताएकी थिइन् । मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छन्। 

सन् २०१९ को अन्त्यतिर मारिनले प्रधानमन्त्री पद सम्हालेकी थिइन्। 

फिनल्याण्डमा नयाँ सरकार गठनका लागि आगामी हप्तादेखि नेसनल कोलिशन पार्टीका प्रमुख पेट्टेरी ओर्पोको नेतृत्वमा वार्ता सुरु हुने भएको छ ।