काठमाडौं - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।
ट्रम्पलाई झुटा व्यावसायिक विवरण तयार पारेको तथा आफूसँगको सम्बन्धबारे मौन बस्न पोर्न स्टारलाई ठूलो रकम दिएको जस्ता विषयमा मुद्धा लागेको थियो। उनले सो विषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्।
सन् २०१६ को उक्त घटनामा मङ्गलबार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ। अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन्। उनले मङ्गलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि पोर्न स्टारसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको थियो। पोर्न स्टार स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी थिइन्।
अभियोगको सामना गरेपछि समर्थकसँग ट्रम्पले भने ,‘तपाईंलाई थाहा छ हामी नक्कली अनुसन्धानबाट गुज्रिरहेका छौं र हामी जित्दैछौं ।
फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । कानुनको पूर्णत: पालना हुने मुलुकका रुपमा चिनिएको अमेरिका यस घटना क्रमसँगै यहाँ कानुन सबैका लागि बराबर हो भन्ने थप प्रमाणित भएको छ ।
0 comment