काठमाडौं - सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरे। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् । एक घण्टासम्म चलेको मतदान प्रक्रियाको मतगणना १५ मिनेटमा सकिएको थियो । यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।
सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर सी जिनपिङले राष्ट्रपति कति पटक बन्न पाउने भन्ने व्यवस्था खारेज गरेका थिए। सोही समयमा नै उनले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।
माओत्सेतुङपछि आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका सी जिनपिङले राष्ट्रपति चुनाव जित्नु औपचारिकता मात्र थियो। पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको सी जिनपिङले चिनियाँ सशस्त्र बलको कमाण्डर-इन-चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन्।
सी चिनफिङले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण अहिले चीन आर्थिक संकटको सामना गरिरहेको छ । गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

0 comment