काठमाडौं - नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। 

बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङविरुद्ध १८ हजार २८४ मतान्तरले विजयी भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत परिणाम आधिकारिक घोषणा हुन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिमाका सांसदले मतदान गरेनन्। राष्ट्रपति निर्वाचनका लागि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ। 

पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई थिए। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे थिए। 

नेम्वाङको प्रस्तावक र समर्थनमा एमाले मात्र रहेको थियो। 

राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज निर्वाचन भएको हो। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ। 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। २०७२ कात्तिक ११ गते उनी प्रथम महिला राष्ट्रपति बनेकी हुन्। 

२०६५ सालमा साउन ८ गते पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए।