काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन लिखित समझदारी खोजेको छ।

पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन सकिँदैन।’ 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाही आइतबार विश्वासको मत लिने तयारीमा छन्। नेपाली कांग्रेसका शाही गत माघ २६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यसअघि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

नेकपा (एमाले) संसदीय दलका नेता रावलले नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् । विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ।