काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको संगठन बनाएर देशका लागी काम गर्न सकिने बताएका छन्।
पार्टी निकट नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने, 'अनुभव प्राप्त गरेका देशका पूर्वप्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन्। अनुभवका खानी पनि हुन्। उनीहरूको व्यक्तित्व पनि छ। यी पूर्वप्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो।'
नेपालले पूर्वप्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असलग्न राष्ट्रका पक्षमा काम गर्ने छन्।
पूर्वप्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।
नेपालले पार्टीका भ्रातृ संगठनले पनि देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले भने, 'हाम्रो पार्टीका साथीहरूले देश, जनता र पार्टीको हितमा हुने काम गर्नुपर्छ। देश र जनता बाहेक हाम्रो पार्टीको कुनै पनि स्वार्थ छैन।' देश र जनताको हितका पक्षमा अरुले उठाउन नसकेको आवाज नेकपा एकीकृत समाजवादीले उठाउन सक्नुपर्ने नेता नेपालले बताए।
उनले भने, 'देशको रक्षा, देशको स्वभिमानको रक्षा गर्न सकियो भने, यो सिंगो देशलाई एकताबद्ध बनाएर लैजान सकियो भने, स्वभिमानलाई माथि उठाउन सकियो भने हाम्रो पार्टीको उपादेयिता पुष्टी हुन्छ। देशलाई समृद्ध बनाउन अरुले उठाउन नसकेको आवाज हामीले उठाउनुपर्छ।'
0 comment